Logo

कोरोनाविरुद्ध विकास भएका १२ प्रकारका खोप, कुन कति प्रभावकारी



सचिना बानियाँः विश्वले कोरोना भाइरसको महामारीबाट अझै मुक्ति पाएको छैन । सन् २०२० को पूरा वर्ष विश्वकै लागि महामारीको वर्ष सावित भयो । विश्वका सबै देश महामारीको चपेटामा परे । स्वास्थ्य संकटसँगै आर्थिक संकट पनि भोगे । तर, विज्ञानको अभूतपूर्व विकास भइसकेकाले कुनै पनि संकटसँग जुध्ने सामथ्र्य रहेको प्रमाणित गर्दै वैज्ञानिकहरू खोपको विकासमा अहोरात्र जुटे । निकै छिटो गतिमा खोपहरू विकास हुन सके ।

सबैभन्दा पहिले रूसको गेमेलियाले स्पुतनिक भी नामको खोप विकास गरी प्रयोग अनुमति दियो । तेस्रो चरणको परीक्षणका क्रममा नै खोपको अनुमति दिएर रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ठूलो विजयको जस्तो उद्घोष गरे । रूसपछि अमेरिका, बेलायत, चीन, भारतलगायतका देशले पनि खोपको विकास गरे । यसरी महामारीको त्रासमा रहेको विश्वमा आशाहरू देखा परे । जनजीवनलाई सामान्य अवस्थामा लानेतर्फ खोप प्रभावकारी बन्दै गयो ।

कोरोना भाइरसको महामारी नामेट भइसकेको छैन । अझै पनि खोपको विकासको प्रतिस्पर्धा चलिरहेको छ । मानवको अस्तित्वका लागि खोपको महत्व छँदैछ । योसँगै यसबाट खर्बौं डलर आम्दानी गर्ने योजनामा शक्तिशाली देश र तिनका कम्पनीहरू सक्रिय भएका छन् । खोपको विकासका लागि हजारौं वैज्ञानिकहरू सक्रिय भएका छन् । न्युयोर्क टाइम्सका अनुसार चीनमा मात्र हजारभन्दा बढी वैज्ञानिक कोरोनाविरुद्धको खोप विकासमा अहोरात्र सक्रिय छन् । विश्वका अन्य देशहरूमा पनि हजारौं वैज्ञानिकहरू अहोरात्र खोपको विकासमा जुटेका छन् ।

विश्वमा अहिलेसम्म १२ वटा खोपहरू प्रयोगमा ल्याइएका छन् । तीमध्ये सबैभन्दा बढी चीनबाट चारवटा प्रकारका खोप विकास गरिएका छन् । अमेरिकाले तीनवटा खोपको विकास गरी प्रयोगमा ल्याइसकेको छ जसमध्ये दुईवटा स्विडेनसँगको संयुक्त रूपमा विकास गरिएको हो । रूसका दुई, भारतका एक र बेलायतसँग मिलेर स्विडेनले एउटा भ्याक्सिन विकास गरेको छ । अहिलेसम्म विकास भएका खोपमध्ये जोन्सन एन्ड जोन्सनबाहेक अन्य सबे भ्याक्सिन दुई डोज लगाउनुपर्छ । जोन्सन एन्ड जोन्सन कम्पनीको भ्याक्सिन एकै डोज लगाए पुग्छ ।

संसारभर २० भन्दा बढी प्रतिस्पर्धी कम्पनीले भ्याक्सिनको मानव परीक्षण गरिरहेका छन् । एक सयभन्दा बढी कम्पनी परीक्षणको अवस्थामा छन् । खोपको विकासका लागि रिसर्चका लागि मात्र अर्बौं डलर खर्च भएको छ । अझै पनि रकम खर्च गर्ने क्रम चलिरहेको छ । विश्वका धनाढ्यमध्येका बिल गेट्सले पनि खोपको विकासमा चाहिने धनराशि खर्च गरिरहेका छन् । धनी र शक्तिशाली देशहरूले अर्बौं डलर खन्याइरहेका छन् । उनीहरू यसको परिणाम देखेरै लगानी गरिरहेका छन् ।

अमेरिकाको फाइजर कम्पनीले खोपको विकास गरी अर्बाैं डलर धनराशि कमाएको छ । १० करोड डोज भ्याक्सिनबापत उसले झन्डै दुई अर्ब डलर कमाउने हिसाब निकालेको थियो । अन्य कम्पनीबाट विकास गरिएको भ्याक्सिनको तुलनामा यो भ्याक्सिन महँगो छ । यसको भण्डारण पनि निकै कठिन छ । अमेरिकाको मोर्डना कम्पनीले पनि अर्बौं डलर आम्दानीको योजना बनाएको छ । १० करोड डोज भ्याक्सिन तयार गर्दा मोर्डनाले ५ अर्ब डलर कमाउने आकलन गरेको थियो ।

खोप निर्माता कम्पनीहरूले परीक्षण गरिरहँदा बजारसमेतमा ध्यान दिएका थिए । उनीहरूले आफ्नो मित्रशक्तिसमेत पहिचान गर्दै खोप कूटनीति अपनाए । रूसी, अमेरिकी र युरोपेली कम्पनीहरूको ध्यान विश्व बजारमा पनि रहेको छ । विश्वको अर्बौं जनसंख्याका लागि भ्याक्सिनको बजार लिन सके खर्बाैं डलर आम्दानी हुन सक्ने आकलनसहित बलिया देशहरू अगाडि बढेका छन् ।

विश्वको सात अर्ब जनसंख्यालाई भ्याक्सिन पु¥याउने र भ्याक्सिनको एक डोजको २० डलरको मात्र हिसाब हुने हो भने एक अर्ब ४० अर्ब डलर हुन आउँछ । प्रतिडोज ५० डलर मूल्य राखिए झन्डै तीन खर्ब डलर हुन आउँछ । यसकारण अमेरिकी भ्याक्सिन उत्पादकहरूले सबैभन्दा बढी आम्दानी गरिरहेको देखिन्छ ।

कोरोनाविरुद्धको खोप विकास गर्ने कम्पनीले अर्बा डलर आम्दानी गर्ने निश्चित छ । ती कम्पनीहरूले विश्वको तीन खर्ब डलरभन्दा ठूलो आम्दानी हुने खोप बजारमा नियन्त्रण कायम गर्दै सक्रिय भइरहेका छन् । खोपको विकास गर्दैमा बजार नियन्त्रण गरिहाल्न सजिलो भने छैन । यसमा पहुँच, शक्ति र बजार व्यवस्थापनको भूमिका मुख्य हुन्छ । अमेरिका, रूस, चीन, युरोपेली मुलुक र भारतसँग मात्र त्यस्तो सामथ्र्य देखिन्छ । उनीहरूको भ्याक्सिन खाडीका धनी देशहरूले खरिद गरिरहेका छन् । यसबाट ठूलो आर्थिक लाभ लिइरहेको देखिन्छ ।

खोपमा को को अगाडि
रूसले कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकासमा पहिलो देश बन्ने सफलता हासिल गरेको थियो । उसले खोप विकास गरेर प्रयोगमा समेत ल्याइसकेको छ । अमेरिकी भ्याक्सिन फाइजर र मोर्डना पनि धमाधम प्रयोगमा आइसकेको छ । अमेरिकामा १३ करोडभन्दा बढी जनसंख्याले खोप लगाइसकेका छन् । फाइजर र मोर्डना भ्याक्सिन युरोपका विकसित देशहरूमा पनि निर्यात भइरहेका छन् । अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको भ्याक्सिन भारतको सेरम इन्स्टिच्युटले पनि उत्पादन गरिरहेको छ । सेरमबाट उत्पादित भ्याक्सिन नेपालमा पनि आयात गरिएको छ । भारतले १० लाख डोज भ्याक्सिन अनुदानमा दिएको छ । थप भ्याक्सिन आयात गरिँदैछ ।

भारतको सेरम कम्पनीको भ्याक्सिन दक्षिण एसियाका देशहरूमा पनि पुगेका छन् । बंगलादेश, भुटान, श्रीलंका, मालदिभ्सलगायतका देशहरूले पनि सेरमले उत्पादन गरेको अक्सफोर्ड भ्याक्सिन प्रयोगमा ल्याएका छन् । अफ्रिकामा पनि सेरमको भ्याक्सिन पुगेको छ । यो सस्तो पनि छ । चीनले कोरोनाविरुद्धको चार प्रकारका खोप विकास गरेको छ । चिनियाँ भ्याक्सिन धेरै देशहरूमा भने पुगेको छैन । सबैभन्दा बढी प्रयोगमा आएको भ्याक्सिनमा अक्सफोर्ड, फाइजर र मोर्डना कम्पनीको भ्याक्सिन नै छ । भारतको आफ्नै उत्पादन भ्याक्सिन भारत बोयोटेक पनि प्रयोगमा आइरहेको छ । अझै पनि भ्याक्सिन विकास भइरहेको छ । अस्ट्रेलिया, थाइल्यान्डका अलावा युरोपका कतिपय देशहरू पनि कोरोनाविरुद्धको भ्याक्सिन विकासमा सक्रिय भएका छन् । तर, ती भ्याक्सिन प्रयोगमा आइसकेका छैनन् ।

संसारभर धमाधम खोपको प्रयोग
विश्वभर खोपको धमाधम प्रयोग भइरहेको छ । खोपको विकास गरेका देशहरूले आफ्ना नागरिकलाई प्राथमिकतामा राखेर खोपको प्रयोग गराइरहेका छन् । विश्वभर आधा अर्बभन्दा बढी मानिसले भ्याक्सिन पाइसकेका छन् । जसमध्ये सबैभन्दा बढी १३ करोडभन्दा बढी अमेरिकी नागरिक छन् । चीनका साढे ८ करोड नागरिकले भ्याक्सिन लगाइसकेका छन् । युरोपेली युनियनका ६ करोडभन्दा बढी नागरिकले भ्याक्सिन पाउँदा भारतका साढे ५ करोडभन्दा बढी भ्याक्सिन लगाइसकेका छन् । कुल जनसंख्यामा सबैभन्दा बढी प्रतिशतले खोप पाएकामा इजरायली जनता छन् । आधाभन्दा बढी इजरायली जनताले खोप लगाइसकेका छन् । यूएई र चिलीका नागरिक पनि भ्याक्सिन लगाउने बढी प्रतिशत छन् ।

संसारमा विकास भएका भ्याक्सिन र प्रयोग
१. फाइजर बायोनटेक अमेरिका र जर्मनी अमेरिका, ईयूलगायत विभिन्न देशमा अनुमोदन भई प्रयोग ।
२. मोर्डना अमेरिका, ईयूलगायत विभिन्न देशमा अनुमोदन भई प्रयोग ।
३. गेमिलिया, रूस, भारतलगायत विभिन्न देशमा अनुमोदन भई प्रयोग ।
४. अक्सफोर्ड एस्ट्रेजेनेका बेलायत र स्विडेन ब्राजिल, बेलायत, ईयूलगायत देशमा प्रयोग ।
५. क्यानसिनो चीन, मेक्सिको, पाकिस्तान, हंगेरीलगायत देशमा प्रयोग ।
६. जोन्सन एन्ड जोन्सन अमेरिका र बेल्जियम, ईयूलगायत देशमा प्रयोग ।
७. भेक्टोर इन्स्टिच्युट रूसमा प्रारम्भिक प्रयोग ।
८. नोभाभ्याक्स अमेरिका तेस्रो चरणको परीक्षणमा ।
९. सिनोफारम चीन, यूएई, बहराइनलगायत देशमा प्रयोग ।
१०. सिनोभ्याक चीनलगायत केही देशमा प्रयोग ।
११. सिनोफारम वुआन चीन र यूएईमा प्रयोग ।
१२. भारत बायोटेक भारतलगायत केही देशमा प्रयोग ।



प्रतिक्रिया दिनुहोस्