काठमाडौं, बैशाखा १ । तेस्रो मुलुक जान भारतीय नागरिकले नेपालको हवाई रुट प्रयोग गर्न थालेका छन् । विदेश जान आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा भारतीयको घुइँचो लाग्ने गरेको छ ।
दूतावासले कोरोना संक्रमण बढेसँगै भारतीय नागरिकलाई एनओसी आवश्यक परे दूतावासको वेबसाइटमा रहेको इमेल ठेगानामा सम्पर्क गर्ने र त्यसपछि क्रमिक रूपमा बोलाउने एडभाइजरी जारी गरेको थियो । ‘एडभाइजरी हामीले वेबसाइटमा हाल्यौं, तर धेरै मान्छे नबोलाइकनै आइरहेका छन्, एडभाइजरीको पालना भएको देखिन्न,’ दूतावासका प्रवक्ता नवीन कुमारले भने, ‘एक दिनमा ५० जना आउनुपर्ने हो । तर तीनदेखि चार सयसम्म आइरहेका छन् । यसले गर्दा भीड बढेको हो ।’ प्रवक्ता कुमारले एनओसी लिने भारतीय बढे पनि उनीहरू भारतबाट नेपाल हुँदै अन्य मुलुकमा उड्नका लागि नै हो भन्न नमिल्ने बताए । ‘नेपालमै रहेका धेरै भारतीय पनि विदेश जान खोजेका हुन सक्छन्,’ उनले भने ।
कोभिड–१९ को बढ्दो संक्रमणका कारण भारतबाट विदेश उड्न केही भिसालाई अस्थायी रूपमा रोक लगाएको, केहीमा प्रक्रिया लामो भएको र संक्रमणकै कारण अन्य मुलुकमा गएपछि प्रक्रिया झन्झटिलो बन्न सक्ने भएकाले भारतीयले नेपालको बाटो रोजेको जानकार बताउँछन् । खुला सिमाना भएका कारण पनि उनीहरूलाई नेपाल आउन सहज भएको हो । कर्णाली प्रदेशबाहेक बाँकी ६ प्रदेशसँग नेपालको सीमा जोडिन्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विदेश जानेमा भारतीयको संख्या बढेको अध्यागमन विभागले पनि आकलन गरेको छ । तर कोभिड–१९ कै कारण संख्या बढेको हो भन्ने विभागले ठहर गरेको छैन । अध्यागमनका महानिर्देशक रमेश केसीका अनुसार भारतमा पछिल्लो समय कोभिड–१९ संक्रमण बढेपछि भारतको अध्यागमनमा केही कडाइ गरिएको छ । कान्तिपुर दैनिकबाट