समाचार विश्लेषण । २०७७ साल नेपाल र नेपालीका लागि सुखद रहेन । विश्व नै कोरोना भाइरसको महामारीसँग जुधिरहँदा नेपाल पनि अछूतो रहेन । त्यसमाथि महामारीबीच नेपालमा सत्ता ढाल्ने र बनाउने खेलहरु चलिरहे ।
सरकार बनाउने र ढाल्ने खेलले महामारीसँगको लडाईँमा निकै असर परेको थियो । नेपाली जनताले महामारीको चुनौती सामना गर्दा सरकार र राजनीतिक दलबाट जुन हदसम्म साथ पाउनुपथ्र्यो त्यो हदसम्म पाउन सकेनन् । जसले राजनीतिक दलप्रति जनतामा असन्तुष्टि बढ्यो ।
कोरोना महामारीमा सामाजिक दूरी कायम गरौं भन्ने नेताहरु आफै जुलुस र सभा गर्न थाले । यतिसम्मकी प्रधानमन्त्री केपी शर्मा ओली पनि हजारौं सहभागी सभालाई सम्बोधन गर्न पुगे । यो हदसम्मको अस्वस्थ प्रतिष्पर्धा भयो । एकातर्फ, संकट र अर्कोतर्फ महामारी । नेपाली जनता दोहोरो महामारीमा परे ।
१० पौष, २०७७ नेपालको राजनीतिक इतिहासमा रोचक दृश्य सडकमा पोखियो । तीनजना पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल हामी यहाँ छौं लेखेको ब्यानर छातिमा टाँसेर माइतीघरको सडकमा देखिए । ब्यानरमा ठुलो अक्षरमा हामी यहाँ छौं थियो । त्यसको ठिक मुनी उनीहरुको नाम र पार्टीमा पद समेत उल्लेख थियो ।
देश कोरोना भाइरसको महामारीमा संघर्षरत रहँदा एउटै दल नेपाल कम्युनिस्ट पार्टीका पूर्वप्रधानमन्त्रीहरु सडकमा धर्ना बस्न पुग्नुमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गराउने कदम थियो । सत्तारुढ नेकपाभित्रको सत्तासंघर्ष चरम चुलीमा पुगेपछि ५ पौष २०७७ को विहानै मन्त्रिपरिषदको बैठक डाकेर प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनको सिफारिश गरेका थिए । त्यसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले केही घन्टामै सदर गरेकी थिइन् । सोही दिन राजनीतिक घटना तिव्र रुपले यसरी विकास भयो कि ओलीविरुद्ध प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव समेत दर्ता भएको थियो । तर, प्रस्ताव विवादमा प¥यो ।
तत्कालिन नेकपाभित्रको विवाद उत्कर्षमा पुग्दै गर्दा धेरै भित्री सहमति र विषयहरु छताछुल्ल भए । नेताहरुले एक अर्कालाई तल्लो स्तरमा झरेर गाली गर्न थाले । राजनीतिमा लागेका महिलाहरुको अपमान गर्ने सम्मका वाक्यहरु नेताहरुको मुखबाट निस्कियो । एकले अर्काको व्यक्तिगत जीवन र कमीकमजोरीबारे तुच्छ वाक्यसहित बोल्न थाले ।
जनताले पाँच वर्ष सरकार चलाउन पूर्ण म्यान्डेट दिएको कम्युनिस्ट सरकार दुई तिहाईबाट बहुमतमा झर्यो । त्यसपछि बहुमत नै गुमाउन पुग्यो । आन्तरिक झगडाले उग्र रुप लिँदै गर्दा प्रतिनिधि सभा विघटनको कदमसम्म ओली पुगे । उनलाई सत्ताबाट हट्न पार्टीभित्रबाट दबाब बढ्दै थियो । प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले राजीनामाको दबाब बढाइरहेका थिए । तर, ओलीले कुनै हालतमा राजीनामा नदिने अडान लिए । राजीनामा दिनुपरे कठोर कदम चाल्ने सम्मको चेतावनी दिए । सहमति, सहकार्य र एकताको राजनीति विपरित सत्तासंघर्षले देशमा नेताहरुले चाल्नुपर्ने कदम र खेल्नुपर्ने भूमिका नै बिर्सिए । तत्कालिन नेकपाका शिर्ष नेताहरुबीच २०७६ सालमा नै द्वन्द्व बढिसकेको थियो । प्रचण्डलाई कार्यकारी अधिकारी दिएर ओलीले थामथुम पारेका थिए । तर, त्यो लामो समय टिक्न सकेन ।
नेकपाभित्र किचलो फेरि चल्यो । अन्तमाः अदालतको २३ फागुनको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँताइदियो । त्यसपछि सत्ता ढाल्ने र बचाउने खेल रोचक मोडमा पुगेको छ ।
एकातर्फ दलहरु सत्ता ढाल्ने र बनाउने खेलमा लागेका छन् । अर्कोतर्फ, कोरोना भाइरसको महामारीको दोस्रो लहर खतरनाक बन्दै गएको छ । संकटको सामना गर्दा गर्दै २०७८ साल आइपुगेको छ । तर, संकट टरेको छैन । महामारी र राजनीतिक संकट एकसाथ आइरहेको छ । मौसम पनि यस्तै छ कि प्रदूषणले भिजिविलिटी नै कमजोर देखिएको छ । तर जब वर्षा हुन्छ तब कालो बादल हट्छ ।
अब राष्ट्रिय सहमति र सहकार्यरुपी वर्षाले राजनीतिमा देखिएको अन्यौलको कालो बादल हट्न सक्छ । सबैबीच सहमतिको आवश्यकता अनिवार्य भएको छ । देशमा कोरोना भाइरसको दोस्रो लहरको कहरको खतरा बढेको छ । त्यसले उत्पन्न गर्नसक्ने कठिन परिस्थितिका कारण पनि सहमतिबाट बढ्नुको विकल्प छैन । नत्र देश र जनताले ठूलो समस्या भोग्नुपर्ने हुनसक्छ ।