कपिल लोहनी : आउँदा दिनहरु अझ बढी फलदायी र सुखमय रहुन् भन्ने कामनाका साथ विश्वभरि नै नयाँ वर्षको आगमनलाई विशेष रुपमा मनाउने चलन छ। विगतका दिनमा भएका उपलब्धि र हानि–नोक्सानी तथा राम्रा–नराम्रा घटनाक्रमहरुको विवेचना गरेर आउँदा दिनहरुमा ती सबै अनुभवहरुलाई पाठको रुपमा अँगाल्दै विभिन्न खाले रचनात्मक कार्य थालेर नयाँ जीवनको आरम्भ गर्ने संकल्प धेरैले गर्छन्।
नेपालमा हामी अक्सर ईश्वी संवत् र विक्रम संवत् दुवैलाई मानेर नयाँ वर्ष मनाउँछौँ भने विभिन्न जात र धर्मको आधारमा फरक समयमा आउने नयाँ वर्षहरु समेत जमेरै मनाउँछौँ। तर सन् २०१९ को अन्त्यदेखि चीनको वुहानबाट शुरु भएर ‘कोभिड–१९’ नामकरण गरिएको कोरोना भाइरसको संक्रमणले विश्वव्यापी महामारीकै रुप लिएकाले पोहोर लकडाउनका कारण चिनियाँ नयाँ वर्षका साथै अंग्रेजी र नेपाली नयाँ वर्षसमेत प्रभावित हुन पुगे। यसपालि पनि कोरोनाको नयाँ लहरका कारण त्यही नियति दोहोरिँदै छ।
आज विक्रम संवत् अनुसारको नयाँ वर्ष मनाउने बेलामा घोषित लकडाउन नभए पनि घरघरमा बन्दीको अवस्थामा जिउन बाध्य हुनुपर्ने अवस्था छ। तर सकारात्मक सोच राखेर हेर्ने हो भने धेरै समयको अन्तरालपछि प्रकृतिले हामी मानव जातिलाई पुरै परिवारसँग घरमा बसेर सुखदुःखका कुराहरु आदान प्रदान गर्दै नयाँ वर्ष मनाउने र भविश्यमा राम्रा कुराहरु गर्ने सामूहिक संकल्प गर्ने अवसर पनि प्रदान गरेको छ।
दोस्रो विश्वयुद्धपछि पुरै विश्वभर विकासको लहर चल्न थाल्यो। औद्योगिक उत्पादन र विश्व व्यापारले पनि ठुलो फड्को मार्न थाल्यो। सन् ७० को दशकपछि खासगरी खाडीका मुलुकहरुमा र सन् २००० देखि दक्षिणपूर्वी एशियामा आर्थिक क्रियाकलाप बढेर त्यहाँ कामको लागि विश्वभरबाट लाखौँको संख्यामा मानिसहरु जान थाले। त्यस्तै अध्ययन र व्यापारको सिलसिलामा विभिन्न मुलुकहरुमा ओहोरदोहोर गर्ने व्यक्तिहरुको संख्या पनि ह्वात्तै बढ्न थाल्यो। यातायात र सञ्चारको तीव्र विकासले गर्दा आज विश्व निकै सानो भइसकेको छ भने विश्वका सबै ठाउँका मानिसहरु जुनसुकै देशका ठुला साना शहरहरुमा र विकास निर्माणका आयोजना स्थलहरुमा पुगेका छन्।
आजभन्दा ५०–६० वर्ष अघिसम्मका महामारीहरु कुनै शहर वा घना बस्तीहरु वा बढीमा एउटा महादेशमा मात्र सीमित हुन्थे भने आज मानिसहरुको गतिशीलता निकै बढेकाले विश्वको एक ठाउँमा शुरु भएको महामारी निकै छिटो विश्वभर फैलिन सक्छ। त्यसैले पनि कुनै एक ठाउँमा त्यस्तो महामारी भएको खबर पाउनेवित्तिकै त्यो ठाउँलाई बाँकी संसारबाट केही समयको लागि अलग्गै पारेर यानी लकडाउन गरेर त्यहाँका बासिन्दाहरुको स्वास्थ्य परीक्षण गरिहाल्नु पर्दछ र संक्रमितहरुको पहिचान गरेर उनीहरुलाई छुट्टै स्थानमा राखेर उचित उपचार गर्नुपर्छ। आजकल जनसमुदाय पनि निकै शिक्षित र सचेत भएकाले यस्ता कुरामा उनीहरुको सहयोग र सहभागिता निकै हुने गरेको छ।
विश्वमा विभिन्न समयमा भएका ठूलठूला महामारीले एकचोटिमा नै करोडौँको ज्यान लिएका छन्। रोगवर्धक भाइरसहरुमा आफ्नो संख्या वृद्धि गर्ने क्षमता यति धेरै हुन्छ कि यसले एक जनामा संक्रमण गरेपछि त्यसभित्र लाखौँको संख्यामा आफूजस्तै खतरनाक भाइरस बनाउन सक्छ भने सो व्यक्तिबाट सजिलै यो अरुमा सर्न सक्छ र यसले महामारीको रुप लिन जान्छ।
सन् १९१८ को कडा रुघाले विश्वभर ५ करोड देखि १० करोडको संख्यामा मानिसहरु मरे। बीसौँ शताव्दीमा बिफरले मात्र विश्वमा बीसौँ करोड मानिसहरुको ज्यान लियो भने सन् १९७९ मा यसको खोप बनेपछि बल्ल यो निर्मूल हुन पुग्यो। विभिन्न खाले कडा रुघाहरु तथा पोलियोका खोप र एन्टीबायोटिक औषधीहरु बने तापनि यस्ता महामारी मच्चाउने भाइरसहरु पनि नयाँ नयाँ रुपमा देखा परिरहन्छन्। एउटा उदाहरण दादुराकै लिन सकिन्छ। खोप र औषधी बनेपछि निर्मुल भइसकेको दादुरा फेरि देखा पर्न थालेको छ।
१९८० को दशकदेखि देखापरेको एचआईभी भाइरसको संक्रमणले मात्र विश्वमा आजसम्म साढे तीन करोडको ज्यान गइसक्यो भने साढे सात करोड मानिस यसको संक्रमणसँग लड्ने प्रयत्न गरिरहेका छन्, तर आजसम्म यसको उपचारका लागि कुनै खोप वा औषधी बनेको छैन। एचआईभी, सार्स र कोभिड–१९ को संक्रमणलाई हेर्ने हो भर्ने पछिल्लो शताव्दी भन्दा यो शताव्दीमा भाइरसको संक्रमण चार गुणाले बढेको छ। यसो हुनुमा विगत ५० वर्षमा विश्वको जनसंख्या बढेर पहिलेको दाँजोमा दोब्बर नै हुनु पनि हो।
जति धेरै मानिस, संक्रमणको खतरा पनि उति नै बढी। त्यसमाथि मानव जातिले आफ्नो उपभोगको लागि पालेर राखेका पशुपक्षीको संख्या पनि आकाशिँदै छ। नयाँ नयाँ भाइरसहरुको उत्पत्ति र फैलावट यस्तै कैयन् पशुपक्षीको शरीरको माध्यमबाट नै हुन्छ भन्ने कुरा पनि पत्ता लागेको छ। बढ्दो जनसंख्याको दैनिक उपभोगका लागि आवश्यक स्थान र खाद्य तथा अन्य उपभोगका साधनको उत्पादन जस्ता पर्यावरणलाई सिधै असर पार्ने क्रियाकलापले गर्दा पनि एकातिर पृथ्वीको तापक्रम बढ्दै गएको छ भने, अर्कोतिर विभिन्न नयाँ किसिमका रोगव्याधिहरु पनि थपिँदै गएका छन्। तर विश्वका सर्वोत्कृष्ट र सम्पन्न मुलुकहरुदेखि लिएर विश्व स्वास्थ्य संगठन समेत एउटा महामारी नियन्त्रणमा आएपछि निकै लामो समयसम्म आराममा बस्ने गर्नाले अर्को महामारी आउनुभन्दा पहिले गर्नुपर्ने तयारी र नयाँ खोप तथा औषधीको अनुसन्धान गर्ने काममा चुकलहाल्छन्। कोभिड–१९ को महामारीले त्यही कुराको पुष्टि गर्यो। निरन्तर अनुसन्धानमा गरिनुपर्ने खर्च र लगानी गर्नबाट चुकेर महामारी शुरु भएपछि एकैचोटी खर्बौ डलर रोकथाममा खर्च गर्नुपर्दा आज विश्व अर्थतन्त्र नराम्ररी धरासायी भइरहेको छ।
अनुभव र समयले मानव जातिलाई यस्ता भाइरसहरुबाट बच्नको लागि सरसफाईमा विशेष ध्यान दिन तथा उपलब्ध खोप तथा औषधीहरुको आवश्यकता अनुरुप सेवन गर्न सिकाएको छ भने संक्रमणको बेला भिडभाडमा नजान, घरमा बस्न र एक अर्कोबीच भौतिक दूरी कायम गर्न पनि सिकाएको छ। करिब पाँच दशकदेखि भाइरसबाट हुने महामारीबाट बच्ने यिनै तरिकाहरुको अवलम्बन गर्न थालिएकाले नै यसको विषम फैलावट पहिलेको दाँजोमा निकै हदसम्म घटेको हो।
प्रत्येक महामारी, विपत्ति र प्राकृतिक प्रकोपको त्रासद अनुभव तथा आफन्त र परिवारजनसँग बिछोडको स्थितिको सामना गरेपश्चात् हामी प्रत्येक मानवमा ‘जीवन के रहेछ र ? एकअर्कामा द्वेष राख्नु, रिस–राग, भय–उन्माद र लोभ–मोहले के नै उपलब्धि हुँदो रहेछ र ? एकापसमा प्रेम, सद्भाव, आदर र सम्मान बाँड्नुका साथै समाजका विभिन्न तप्काका मानवहरु र सम्पूर्ण प्राणीहरुको सेवा र प्रकृतिको उचित कदर र संरक्षण गरे पो त जिन्दगीमा दिगो सुख, खुशीयाली, शान्ति र सन्तोष छाउँदो रहेछ। अब आइन्दा म यस्तै प्रकारको जीवन जिउँछु’ भन्ने जस्तो भावना जागृत हुँदोरहेछ। तर ईश्वरले मानव जातिमा छिटो सबै गौण कुराहरु भुल्ने एउटा अचम्मको बानी उपहास स्वरुप दिएकाले होला, हामी सहज परिस्थिति आउनासाथ यी सब जज्बाती कुराह बिर्सेर पुनः पुरानै धन्दामा लिप्त हुन थाल्छौँ। २०७२ सालको भूकम्पपश्चात् पनि यस्तै भएको थियो।
यसपालिको नयाँ वर्षमा हामी सबैले माथि उल्लेख गरिएका जस्ता सकारात्मक कुराहरुमा अडिग भएर लागिरहने संकल्प गरौँ र हाम्रा र भावी पुस्ताको जीवन सुखमय बनाउने तथा प्रकृतिलाई माया र संरक्षण गर्ने प्रण समेत गरौँ। यसैमा हामी सबैको कल्याण छ। विगत केही दिनदेखि मेरो घरमा भएका रुखहरुमा बस्ने कौवाहरु निरन्तर कराएर पाहुना आउन लागेको संकेत दिइरहेछन्। यी कौवाहरुले नयाँ वर्ष आउन लागेको कुरा पो सूचित गरेका रहेछन्। सबैको जय होस्!