गण्डकी, १ बैशाख । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राजनीतिक स्थायित्व, शान्ति र समृद्धिका लागि गम्भीर र जिम्मेवार बन्न सबैलाई आग्रह गरेका छन् । नयाँ वर्ष २०७८ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले राजनीतिक स्थायित्व नै देशको आवश्यकता भएको बताएका हुन् ।
ठूलो सङ्घर्षबाट प्राप्त ऐतिहासिक उपलब्धिलाई सुशासन र समृद्धिमार्फत सुदृढ बनाउन नयाँ वर्षले सबैमा प्रेरणा दिने विश्वास व्यक्त गर्दै उहाँले राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सबैले दृढ सङ्कल्प गर्नुपर्ने शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
प्रदेश प्रमुख शेरचनले विश्वव्यापी कोरोना महामारीपछि सामान्य जीवनमा फर्किएर आफ्ना नियमित क्रियाकलाप अघि बढाइरहँदा फेरि कोरोना जोखिम बढेको उल्लेख गर्दै सचेत र सतर्क रहन सबैमा आग्रह समेत गरेका छन् । रासस