वीरगञ्ज, बैशाख २ । कपडा सिलाउने तयारी गोली धागो आयातमा अव्यावहारिक भन्सार मूल्यांकन र महसुलका कारण स्वदेशी उद्योगलाई मार परेको छ । आयातकर्ताले तयारी धागोलाई औद्योगिक कच्चा पदार्थसरह सहुलियतमा भित्र्याएपछि स्वदेशका यस्ता उद्योग संकटमा परेको उद्योगीहरूले बताएका छन् ।
कम भन्सार मूल्यांकन र महसुलमा भित्रिएको धागोका कारण स्वदेशी उद्योग समस्यामा परेका हुन् । आयातकर्ताले तयारी धागोलाई कच्चा पदार्थसरह सहुलियतमा भित्र्याउँदा स्थानीय उद्योगलाई प्रतिस्पर्धामा समस्या भएको एस थ्रेडका सञ्चालक मुर्ली जलानले बताए ।
कच्चा पदार्थको रूपमा प्रयोग हुने धागोको भन्सार मूल्यांकन प्रतिकिलो १५० रुपैयाँ छ । यसमा ५ प्रतिशत भन्सार महसुल र १३ मूल्यअभिवृद्धि कर लाग्छ । आयातकर्ताले तयारी धागोसमेत यही मूल्यांकन र महसुलमा भित्र्याउने गरेका छन् ।
कच्चा पदार्थको सहुलियतमा तयारी धागो आयात हुँदा स्वदेशी उद्योगीलाई प्रतिस्पर्धामा कठिनाइ भएको जलानले बताए । ‘अव्यावहारिक मूल्यांकन प्रणालीका कारण आयातकर्ताले तयारी धागोलाई कच्चा पदार्थको सहुलियतमा भित्र्याइरहेका छन् । यसको प्रत्यक्ष मार यहाँका धागो उद्योगलाई परिहेको छ,’ जलानले आर्थिक अभियानसँग भने । उद्योगीले धागो उत्पादनका लागि रङ, डब्बा, प्लास्टिक, गोलीलगायत सहायक कच्चा पदार्थ र प्याकिङ मेटेरियल पनि आयात गर्नुपर्छ । यसमा ५ देखि ४० प्रतिशतसम्म भन्सार महसुल तोकिएको छ ।
आयातकर्ताले ५ प्रतिशत भन्सारमा तयारी धागो ल्याउँदा स्वदेशी उद्योगलाई आफ्नो उत्पादन बेच्न कठिन भएको बुटवलस्थित कृष्ण धागो उद्योगका सञ्चालक कौशलकिशोर अग्रवालले बताए । तयारी धागोको मूल्यांकन र भन्सार महसुल दुवै बढाउनुपर्ने माग उद्योगीहरूको छ ।
परिमाणमा मूल्यांकन हुने तयारी धागोमा आयातकर्ताले रङ, डब्बा, गोली, प्लास्टिकलगायतको राजस्वबाट पनि उन्मुक्ति पाइरहेको दाबी उद्योगीको छ । आर्थिक अभियान दैनिकबाट