काठमाडौं, बैशाख २ । नयाँ संविधानले स्वास्थ्यलाई आधारभूत अधिकारको रुपमा व्यवस्था गरेसँगै नेपाल स्वास्थ्य क्षेत्रमा क्रमिक सुधारको बाटोमा अघि बढिरहेको थियो। अघिल्लो वर्षको नीति तथा कार्यक्रममा प्रत्येक स्थानीय निकायमा ५ देखि १५ बेडको अस्पताल स्थापनाको कार्यक्रम समावेश गरिएको थियो। सर्ने तथा नसर्ने रोगको उपचार तथा रोकथामका कार्यक्रम, सातै प्रदेशमा विशिष्ट अस्पताल निर्माणलगायतका योजना लागु गर्ने प्रक्रिया सुरु भएको थियो।
गत वर्षको अन्तिम समयमा विश्वभरि फैलिएको कोभिड १९ महामारीको प्रभाव नेपालमा पनि पर्यो। कोरोना महामारी व्यवस्थापन नेपालका लागि चुनौती बनेर देखियो। सुरुका दिनमा महामारी व्यवस्थापनको तयारी सरकारसामु चुनौतीपूर्ण थियो। कोभिड १९ विरुद्धको खोप कार्यक्रमका संयोजक डा श्यामराज उपे्रतीका अनुसार नेपालमा कुनै पनि प्रकोप व्यवस्थापनको बारेमा योजना बने पनि तयारी नहुनुको परिणाम गत वर्ष सरकारले झेल्नुपर्यो।
कोभिड महामारी सुरु हुनेबित्तिकैको समयमा यसको परीक्षण गर्न देशका कुनै पनि निकायमा आधुनिक प्रयोगशाला थिएन । त्यसैले तीव्र गतिमा प्रयोगशाला व्यवस्थापन गर्नुपरेको थियो। यसरी एक्कासि देखा परेको चुनौतीका कारण स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकास, जनशक्तिलाई तालिम, प्रयोगशाला विस्तार भएको डा।उप्रेती बताउँछन्। ‘गत वर्षको चुनौतीले समस्यामात्र नभएर सिकाइ र विकासको अवसर पनि पनि दियो’, डा उप्रेतीले भने । यो सिकाइलाई जनताले देख्ने गरी प्रयोगमा ल्याउन अझै बाँकी रहेको उनले बताए । कोभिड १९ का कारण धेरै कुरामा सुधार भएको डा उपे्रतीको अनुभव छ। ‘प्रयोगशाला थपिए, आइसियु थपिए, स्वास्थ्यकर्मीले महामारी व्यवस्थापनको तालिम पाए’, उनले भने।
कोभिड १९ का कारण सरकारका नियमित कार्यक्रमसमेत प्रभावित भए। खोप अभियान, गर्भवती जाँच, सुरक्षित प्रसूतिसेवासमेत प्रभावित भएको जनस्वास्थ्यविद् बताउँछन्। परिवार कल्याण महाशाखा प्रमुख डा।तारानाथ पोखरेलको विचारमा पनि स्वास्थ्य क्षेत्रका लागि बितेको वर्ष महामारीका कारण चुनौतीपूर्ण रह्यो तर चुनौतीले सफलता पनि दिएको छ। नागरिक दैनिकबाट