Logo

नेपालगन्जमा कोरोना संक्रमण तीव्र



बाँके, बैशाख २ । नेपालगन्जमा कोरोना भाइरसको संक्रमण तीव्र बनेको छ। लक्षणसहितका बिरामी एक्कासि बढेपछि अस्पतालका बेड भरिभराउ भएका छन्। भेरी अस्पतालका एनेस्थेसियोलोजिस्ट डा पारश पाण्डेका अनुसार गत शनिबार २२ जना बिरामी भर्ना भएकोमा बुधबारसम्म ७४ जना पुगिसकेका छन्। ‘पहिलेको भन्दा अहिलेका बिरामीको लक्षण एकदमै खतरनाक छ। भेन्टिलेटरमा राखिएका बिरामीको बोल्दाबोल्दै मृत्यु भएको छ’, उनले भने।

डा। पाण्डेका अनुसार कोभिड वार्डमा भर्ना भएका बिरामीमध्ये १४ जनाको आइसियु र ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। उनले थपे, ‘यसअघि परिवारमा एकजनालाई कोरोना देखिएपछि अरु व्यक्तिमा सर्दैनथ्यो तर अहिले एकजनालाई देखिनेबित्तिकै परिवारका सबैलाई भाइरस सरेको स्थिति छ।’

संक्रमितको चाप बढेपछि उपचार गर्न जनशक्ति अभाव भएको अस्पतालले जनाएको छ। अस्पतालले उपलब्ध गराएको विवरणअनुसार एक सातामा ४ जना संक्रमितको मृत्यु भइसकेको छ। अस्पताल प्रशासनका अनुसार चैत २५ र ३० गते १–१ जना र चैत ३१ गते २ जनाको मृत्यु भएको हो।

यस्तै अस्पतालले गरेको प्रयोगशाला परीक्षणबाट चैत २७ यता बुधबारसम्म २ सय १० जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये स्वास्थ्यमा समस्या देखिएका बिरामी अस्पतालमा भर्ना भए पनि बाँकी होम आइसोलेसनमा छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्