काठमाडौं, २ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी निर्माणमा भइरहेको ढिलाईलाई अस्वाभाविक र असाधारण भन्दै कारबाहीको चेतावनी दिएका छन् । उनले कुनैपनि प्रकारको अस्वाभाविक ढिलाई सह्य हुन नसक्ने समेत बताए ।
‘अपर तामाकोशीमा अस्वाभाविक र असाधारण तरिकाले काममा ढिलाई भइरहेको छ,’ प्रधानमन्त्री ओलीले नापी विभागमा आयोजित कार्यक्रममा भने,‘पाइप फुटेजत्तिको काम बाँकी छ तर ढिलासुस्ती भइरहेको छ ।’
अपर तामाकोशीमा ढिलाई हुँदा दैनिक १३ करोड नोक्शान भइरहेको बताए । उनले भने,‘देशभित्र या बाहिरका जोकोही ठेकेदार हुन् अब सह्य र मान्य हुनेछैन, ढिलासुस्ती गर्नेले आफै क्षति व्यहोर्नुपर्छ ।’ ओलीले अस्वाभाविक ढिलाई गर्नेलाई कारबाही गर्ने समेत चेतावनी दिए ।
मेशिन जडानमा एक वर्ष अघि सोध्दा, एक महिना अघि सोध्दा र केही दिन अघि सोध्दा एउटै जवाफ पाउने गरेको ओलीको भनाई थियो । विगतमा मेलम्ची खानेपानी आयोजनामा पनि ताकेता गरेकाले खानेपानी आइपुगेको बताए ।