Logo

बायोमेट्रिक हाजिरी परीक्षणमा ढिलाइ



काठमाडौं, बैशाख ३ । वैदेशिक रोजगार विभागले अभिमुखीकरण तालिम लिँदाको बायोमेट्रिक र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा लिइने बायोमेट्रिक हाजिरी एउटै भए वा नभएको परीक्षण गर्ने कार्य यसअघि तोकिएभन्दा केही ढिला हुने भएको छ ।

विभागले सूचनामार्फत विभागको सूचना व्यवस्थापन प्रणाली (फेमिस) स्तरोन्नति काम भइरहेकाले यसअघि तोकिएको समयभन्दा १२ दिन ढिला गरेर बायोमेट्रिकको परीक्षण गरिने जनाएको हो ।

विभागले यसअघि वैशाख १ गतेदेखि अभिमुखीकरण तालिम लिँदाको र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा लिएको वायोमेट्रिक एउटै नभए श्रमिकलाई फिर्ता गरिने सूचनामार्फत जानकारी गराएको थियो । विभागले विभागको सूचना व्यवस्थापन प्रणाली (फेमिस) को स्तरोन्नति काम सकिनेबित्तिकै बायोमेट्रिकको परीक्षण सुरु हुने जनाएको छ ।

विभागले ढिलोमा आउँदो १२ गतेदेखि बायोमेट्रिक परीक्षण गर्ने गरी तयारी भएको जनाएको छ । विभागले पछिल्लो पटक अभिमुखीकरण तालिम दिने ४५ वटा संस्थाको आकस्मिक अनुगमन गरेकोमा ३० वटा त बन्द गरेको छ ।

तालिम प्रदायक संस्थाले विदेश प्रस्थानपूर्व दिइने १२ घण्टे अभिमुखीकरण तालिम लिएकालाई बायोमेट्रिक लिनुुपर्ने र बायोमेट्रिक लिएको रेकर्ड विभागमा पठाउनुपर्ने व्यवस्था छ ।

तर, तालिम प्रदायक केही संस्थाले अभिमुुखीकरण तालिम नै नदिई प्रमाणपत्र दिने र घर÷घरमा पुुगेर बायोमेट्रिक लिने गरेको विभागको अनुुगमनका क्रममा पाइएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्