नेपालगन्ज, बैशाख ४ । नेपालगन्जमा दोस्रो चरणमा फैलिएको कोरोना संक्रमण नियन्त्रणबाहिर जान थालेको छ। बाँके जिल्लामा पछिल्लो २४ घण्टामा भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज कोहलपुर, बागेश्वरी ल्याब र जमुनाहा हेल्थ डेस्कमा गरिएको परीक्षणबाट २ सयजना नयाँ संक्रमित थपिएका छन्। जसमध्ये १ सय ९ जना पुरुष र ९१ जना महिला छन्। नयाँ संक्रमितमा १ सय ३८ जना बाँके निवासी र ६२ जना जिल्लाबाहिरका हुन्। योसँगै बाँकेमा संक्रमितको संख्या ५ हजार १ सय ९४ पुगेको छ। हालसम्म बाँकेका कोरोना संक्रमणबाट ५९ जनाको मृत्यु भइसकेको छ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका अनुसार हाल ४ सय १४ जना आइसालेसनमा छन्। भेरी अस्पतालमा ९० र होम आइसोलेसनमा ३ सय ७९ जना रहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए। उनका अनुसार भेरी अस्पतालको १ सय ४२ बेड क्षमताको कोभिड वार्डमा ४० जनाको आइसियु र ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर गइसकेको चिकित्सक बताउँछन्।
भेरी अस्पतालका एनेस्थेसियोलोजिस्ट डा। पारश पाण्डेले संक्रमित बढेपछि कोभिड वार्ड पनि भरिएको बताए। अघिल्लो वर्ष भर्ना भएका मध्ये ५ देखि १० प्रतिशत गम्भीर अवस्थाका भएकोमा अहिले ३० देखि ४० प्रतिशतसम्म यस्तो प्रकृतिका भएको उनले बताए। डा। पाण्डेले भने, ‘पहिले परिवारका एक सदस्यलाई पोजेटिभ हुँदा अरूलाई सर्ने सम्भावना कम थियो तर अहिले एकजना पोजेटिभ भए सबैमा सर्ने अवस्था छ।’ पहिले वृद्धवृद्धालाई बढी समस्या देखिने गरेकोमा अहिले २० देखि ४० वर्ष तथा ४÷५ वर्षका बच्चालाई समेत पोजेटिभ देखिएको उनले बताए। अस्पतालमा संक्रमितको चाप बढेपछि जनशक्ति र स्रोत साधनको पनि अभाव भइरहेको उनले बताए।
भेरी अस्पतालमा उपचाररत सुर्खेत, गुर्भाकोट निवासी ३१ वर्षीय पुरुषको शुक्रबार बिहान बोल्दाबोल्दै एक्कासि मृत्यु भएको छ। एक साताअघि भारतबाट फर्केका उनलाई श्वास फेर्न समस्या भएपछि चैत ३१ गते नेपालगन्ज मेडिकल कलेजमा पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। भेरी अस्पतालमा सोही दिन भर्ना भएका उनको शुक्रबार बिहान साढे ७ बजेतिर मृत्यु भएको हो। नागरिक दैनिकबाट