काठमाडौं, ४ वैशाख । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी सरकारले मुख्य शहरका विद्यालय अनिवार्य बन्दको निर्णय लिने भएको छ । आगामी मन्त्रिपरिषदको बैठकबाट सरकारले अनिवार्य बन्दको निर्णय लिने भएको हो ।
यसअघि शहरी क्षेत्रका विद्यालय बन्दको आग्रह मात्र गरेको सरकारले अब भने अनिवार्य बन्द गराउने गरी मन्त्रिपरिषदबाट निर्णय गर्ने तयारी गरेको बुझिएको छ । आज कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले वैशाखभर विद्यालय बन्द गर्न सिफारिश गरेको छ । सिफारिशबारे सरकारले अन्तिम निर्णय लिने भएको छ ।
शनिबार सीसीएमसीको बैठक बसेर कोरोना भाइरसको जोखिमको अवस्थाबारे समिक्षा समेत गरेको थियो । विद्यालय जाने उमेरका बालबालिकामा कोरोना भाइरसको संक्रमण फैलिएको तथ्यांकका आधारमा सीसीएमसीले बन्दको सिफारिश गरेको हो । विद्यालय बन्द भएपनि पठनपाठन भने अनलाइन कक्षाबाट सञ्चालन हुनेछ ।