खोटाङ, ५ बैशाख । खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले प्राकृतिक विपत्तिमा परेका जिल्लाका १०० घर पीडित परिवारलाई राहतस्वरुप सहयोग रकम उपलब्ध गराएको छ । आगलागी, बाढीपहिरो, हावाहुरी, चट्याङलगायत विभिन्न प्रकृतिका प्राकृतिक विपत्तिमा परेका पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले स्थापना भएको कोषले स्थापनाकालदेखि हालसम्म १०० घर पीडित परिवारलाई राहतस्वरुप सहयोग रकम उपलब्ध गराएको हो ।
विसं २०७२ मा खोटाङ सेवा समाज हङकङको सक्रियतामा आर्थिक सङ्कलन गरेर विसं २०७४ देखि जिल्लामा राहतस्वरुप सहयोग रकम वितरण गर्दै आएको कोषले स्थापना भएकै वर्ष १९ परिवारलाई रु एक लाख ८५ हजार र विसं २०७५ मा २४ परिवारलाई रु एक लाख १८ हजार राहत रकम प्रदान गरेको थियो । यस्तै २०७६ मा २७ परिवारलाई रु एक लाख ५३ हजार रकम उपलब्ध गराइएकामा २०७७ मा ३० घर पीडित परिवारलाई रु दुई लाख ८५ हजार प्रदान गरिएको प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्ष युगसन किराँतले जानकारी दिए ।
कोष स्थापनादेखि हालसम्मको तथ्याङ्क हेर्दा जिल्लामा सबैभन्दा बढी आगलागी, बाढीपहिरो र चट्याङबाट पीडित बनेका परिवारलाई राहत वितरण गरिएको छ । विसं २०७७ अर्थात् यस वर्ष जिल्लामा सबैभन्दा बढी आगलागीका घटना भएको पाइएको प्राकृतिक प्रकोप सहयोग कोषले जनाएको छ ।
जिल्लामा आधिकारिकरूपमा दर्ता गरेर सञ्चालनमा ल्याइएको कोषले आफ्नो मूलधन रु ३० लाखको ब्याजबाट आएको रकमले आंशिक क्षतिलाई नगद रु पाँच हजार र पूर्ण क्षतिलाई नगद रु १० हजार राहत वितरण गर्दै आएको छ । भोगेन्द्र राई ‘एक्ले’को अध्यक्षतामा गठन भएको कोषमा १३ सदस्यीय समिति रहेको छ । विपद्मा परेका व्यक्ति तथा परिवारलाई तत्काल राहत उपलब्ध गराउन सहज होस् भनेर जिल्लाका १० वटै स्थानीय तहमा प्रतिनिधि राखिएको छ । स्थानीय तहमा गठन गरिएको समितिका प्रतिनिधिले सम्बन्धित ठाउँका पीडितको घरआँगनमै पुगेर राहत रकम वितरण गर्दै आएको छन् । रासस