Logo

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ५४ सामुदायिक विद्यालय छनोट



तनहुँ, ५ बैशाख । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जिल्लामा ५४ सामुदायिक विद्यालय छनोट भएका छन् । शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जिल्लाका नौ स्थानीय तहका विद्यालय छनोट गरेको हो । सो कार्यक्रमका लागि रु सात करोड ३१ लाख बजेटसमेत विनियोजन गरिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि विद्यालय छनोट गरी मापदण्डहरुसमेत सार्वजनिक गरेको छ ।

छनोट भएका विद्यालय र कार्यक्रम सबै स्थानीय तह र विद्यालयले कार्यान्वयन गर्नुपर्नेछ । सो कार्यक्रममा छनोट भएका विद्यालय र कार्यक्रमका लागि सङ्घीय सरकारले चाँडै सम्बन्धित स्थानीय तहमा निकास गर्ने शिक्षा विभागले जनाएको छ । छनोट भएका विद्यालयमा कक्षाकोठा निर्माण, खानेपानी सहितको शौचालय, कम्प्युटर ल्याब, पुस्तकालय तथा विज्ञान प्रयोगशाला, सिकाइ तथा विभिन्न प्राविधिक विषय समेटिएका छन् ।

जिल्लाको भानु नगरपालिकाका सात विद्यालयका लागि रु ९१ लाख ५० हजार बजेट विनियोजन भएको छ । भानु नगरपालिकास्थित मनोहर माविमा कक्षाकोठा निर्माणका लागि १८ लाख, भानु संस्कृत माविमा कक्षाकोठा निर्माणका लागि १८ लाख, त्रिभुवन माविमा कक्षाकोठा निर्माणका लागि १८ लाख, सरस्वती मन्दिर माविमा कक्षाकोठा निर्माणका लागि १८ लाख, जनजागृति माविमा सिकाइ सामग्री उपलब्धिका लागि ६ लाख ५० हजार, जनसहयोगी माविमा शिक्षामा नवीन प्रविधि प्रवद्र्धन रु ६ लाख ५० हजार र दोरदोर प्राथमिक विद्यालयमा शिक्षामा नवीन प्रविधि प्रवद्र्धन रु ६ लाख ५० हजार विनियोजन भएको छ ।

भीमाद नगरपालिकाका सात विद्यालयका लागि ४६ लाख बजेट विनियोजन भएको छ । भीमाद नगरपालिकास्थित धर्म माविमा शिक्षामा नवीन प्रविधि प्रवद्र्धनका लागि ६ लाख ५० हजार, मङ्गलोदय माविमा ६ लाख ५० हजार, सिद्धार्थ माविमा पुस्तकालय तथा विज्ञान प्रयोगशालाका लागि ६ लाख ५० हजार, बाल शैक्षिक माविमा ६ लाख ५० हजार, जनता आधारभूत विद्यालयमा खानेपानी सहितको शौचालयका लागि सात लाख, जनज्योति माविमा शिक्षामा ६ लाख ५० हजार र नर आधारभूत विद्यालयमा सिकाइ सामग्री उपलब्धि अभिवृद्धिका लागि रु ६ लाख ५० हजार बजेट विनियोजन भएको छ । रासस



प्रतिक्रिया दिनुहोस्