काठमाडौं, बैशाख ६। केही दिनयता नेपालमा कोरोनाको नयाँ भेरियन्ट समुदायस्तरमै फैलिएपछि यसबाट प्रभावितको संख्या दिनानुदिन हवात्तै बढ्न थालेको छ ।
कोरोना भाइरस संक्रमित हुनेको संख्या आइतबार चार अंकमा पुगेको छ । केही दिनयता संक्रमणदर अत्यधिक रूपमा बढ्दै गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८४ हजार ६ सय ७३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभर ६ हजार २ सय ९० जना सक्रिय संक्रमित रहेका छन् । कुल संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै ४ सय ३५ जना छन् । काठमाडौंमा ३ सय २६, ललितपुरमा ६४ र भक्तपुरमा ४५ जनामा संक्रमण देखिएको छ ।
संक्रमण ह्वात्तै बढेलगत्तै चिकित्सकले सतर्क र सजग रहन आग्रह गरेका छन् । नेपालमा हाल यूके भेरियन्ट र डबल म्युटेन्ट भेरियन्ट देखिएका छन् । यी भेरियन्ट पहिलेको स्वरूपभन्दा छिटो फैलिनुका साथै बालबालिका र युवामा बढी संक्रमण हुने पाइएको छ ।
कतिपय बालबालिकामा लक्षण नदेखिए पनि रोग भएको भए अन्य व्यक्तिमा सार्न सक्ने बताइएको छ । विश्वका कतिपय देशमा बालबालिकामा बिरामीको समयभन्दा पनि रोग लागेको चारदेखि ६ सातापछि मल्टिसिस्टम इन्फ्लाममेटरी सिन्ड्रम इन चिल्ड्रेन ९एमआईएससी० भई बच्चा सिकिस्त हुन सक्ने बाल रोग विशेषज्ञहरू बताउँछन् । चिकित्सकहरूका अनुसार एमआईएससीको लक्षणमा ज्वरो, कडा झाडापखाला, बढी पेट दुख्ने, श्वासप्रश्वासमा गाह्रो हुने, मुटुमा समस्या देखिने नयाँ भेरियन्टका लक्षण रहेका छन् ।
सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले कोरोना जोखिम बढेको भन्दै यसको चपेटामा बालबालिका रहेको बताए । उनले भने, ‘भाइरसले कोर्स चेन्ज गरेको छ । बालबालिकासहित सबै उमेर समूहका नागरिक चपेटामा परेका छन् । बालबालिकाप्रति सरोकारवाला निकाय संवेदनशील हुनुपर्छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संक्रमणबाट बच्न भौतिक दूरी कायम, मास्कको समुचित प्रयोगलाई ध्यान दिनुपर्ने बताए ।
नेपाल पेडियाट्रिक सोसाइटीका अध्यक्ष डा। कृष्णप्रसाद विष्टले अति आवश्यक कामबाहेक आफू वा आफ्ना बालबालिकालाई बाहिर वा भिडभाडमा नलैजान आग्रह गरे । अहिले रोग द्रुत गतिमा फैलिरहेको र स्वास्थ्य मन्त्रालयले समेत विद्यालय भर्चुअल कक्षा सञ्चालन गर्न अनुरोध गरेकाले स्वास्थ्य मापदण्ड पूरा हुने अवस्था भए मात्र बालबालिकालाई विद्यालय वा कलेज पठाउनुपर्ने बताए ।
गत २४ घण्टामा २ सय ६२ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ७५ हजार ३ सय पुगेको छ । यस्तै, देशभर ८५ जना क्वारेन्टाइनमा रहेका छन् । देशभर १ सय १६ जना आईसीयू र ४६ जना संक्रमित भेन्टिलेटरमा उपचारत छन् ।
गत २४ घण्टामा आठ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८३ जना पुगेको छ । हाल देशभर १ सय ६२ जना कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । जसअन्तर्गत १ सय १६ जना आईसीयू र ४६ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । राजधानी दैनिकबाट