चितवन, बैशाख ६ । जिल्लाको इच्छाकामना गाउँपालिकाका करिब साढे २०० घरधुरीमा बिजुली बलेको छ । सामुदायिक विद्युतीकरण कार्यक्रमअन्तर्गत ती क्षेत्रमा बिजुली बालिएको हो ।
इच्छाकामना–५ अन्तर्गत चण्डीभञ्ज्याङको चनौटेदेखि ढाला, पाङ्गडे, ढुङ्ग्रेसम्मका क्षेत्रमा विद्युतीकरणको काम सम्पन्न गरिएको नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीव सिंहले जानकारी दिए ।
“स्थानीयवासीका लागि आवश्यक मिटर प्राधिकरणले उपलब्ध गराउनेछ”, सिंहले विद्युतीकरण शुभारम्भ कार्यक्रममा भने, “सुरक्षित रहेर विद्युत् उपभोग गरौँ र खपत बढाऊँ ।” स्थानीयस्तरमा स्थापना गर्न सकिने कलकारखाना खोल्न आग्रह गर्दै सिंहले त्यसका लागि प्राधिकरणले आवश्यक विद्युत् उपलब्ध गराउने बताए।
प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतको सामुदायिक विद्युतीकरण विभागबाट ठेक्का भई विद्युतीकरण सम्पन्न भएको पनि सिंहले जानकारी दिए। उनका अनुसार विद्युतीकरण गरिएको ठाउँमा १००÷१०० केभिएका दुई वटा ट्रान्सफर्मर जडान गरिएको छ ।
मस्र्याङ्दी बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको विद्युतीकरण शुभारम्भ कार्यक्रममा सङ्घीय सांसद कृष्णभक्त पोखरेलले गाँउपालिकामा यसै वर्ष विद्युतीकरणको काम सम्पन्न गर्ने गरी काम भइरहेको बताए । उनले सङ्घीय सरकारको तर्फबाट विद्युतीकरणका लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाए । रासस