बाग्लुङ, ६ बैशाख । सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि बागलुङका १९ विद्यालय छनोट भएका छन् । बागलुङ नगरपालिकाभित्रका माध्यमिक, आधारभूत र प्राथमिक विद्यालयबाट १९ विद्यालय शैक्षिक सुधारका लागि छनोट भएका हुन् ।
विद्यालयको शैक्षिक सुधारका लागि रु दुई करोड ५७ लाख बजेट विनियोजन भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ती विद्यालयले बजेट पाउने भएका हुन् । एघार विद्यालयले शैक्षिक सुधारका लागि रु १८ लाख अनुदान पाउने छन् । दुई विद्यालयका लागि रु १० लाख र बाँकी छ विद्यालयका लागि छ लाख ५० हजार रुपैयाँका दरले बजेट विनियोजन भएको नगरप्रमुख जनकराज पौडेलले बताए ।
रु १८ लाख बजेट पाउनेमा जनताधन मावि नारायणस्थान, मूलपानी मावि मूलपानी, तित्याङ मावि, त्रिभुवन मावि, महाविद्याजन मावि, कुँडुले मावि, लहरेपीपल मावि, रुद्रे पीपल मावि, मालिका मावि, जनमत मावि र शिवालय मावि रहेका छन् । यसैगरी रु १० लाख अनुदान पाउनेमा धवलागिरि बहिरा आवासीय मावि र सुस्त मनस्थिति कल्याण विद्यालय रहेका छन् । रु छ लाख २५ हजार अनुदान पाएको पृथ्वी माविका लागि छुट्टै शीर्षक बनाएर रु २५ लाख थप गरिएको छ । सिगाना, धौलागिरि वीरेन्द्र, गणेश, कालिका कन्या र शिवालय माविले रु छ लाख ५० हजारका दरले शैक्षिक सुधार कार्यक्रमअन्तर्गतको अनुदान पाउने नगरपालिकाले जनाएको छ । रासस