Logo

नमोबुद्ध राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जनक मावि प्रथम



बनेपा, ६ बैशाख । बनेपा– काभ्रेपलाञ्चोकको भकुण्डेवेशीमा सञ्चालन भएको नमोबुद्ध नगरस्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जनक मावि भकुण्डेबेशी प्रथम भएको छ । सो प्रतियोगितामा सबैभन्दा बढी पदकसहित विद्यालय प्रथम भएको हो ।

प्रतियोगितामा जनकमाविले १७ स्वर्ण, ८ रजत र ४ कास्य गरी कूल २९ वटा पदक जित्न सफल भएको हो । यो सहित सो विद्यालयले लगातार दोस्रोपटक रनिङ शिल्ड जितेको हो । दोस्रो भएको श्रीकृष्ण मावि दाप्चाले ५ स्वर्ण, ५ रजत र २ कास्य गरी १२ पदक जितेको छ । त्यस्तै तेस्रो बनेको बाल उज्ज्वल माविले ३ स्वर्ण, ६ रजत र ८ कास्य गरी १७ वटा पदक जितेको छ ।

प्रतियोगिताका विजयी समूह तथा खेलाडीलाई आइतबार नमोबुद्ध नगरपालिका प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, शिक्षा युवा तथा खेलकूद शाखाका प्रमुख उपसचिव जनार्दन रिजाल, वडा नं ४ का वडाध्यक्ष उद्धवप्रसाद काफ्ले, नेपाली सेनाको २६ नम्बर बाहिनीका सेनानी दलबहादुर रावललगायतले शिल्ड तथा मेडल प्रदान गरे। प्रतियोगितामा नगरपालिकाभित्रका १५ माध्यमिक विद्यालयमध्ये ११ सामुदायिक र दुई वटा संस्थागत गरी १३ विद्यालयका कूल ४८० विद्यार्थीले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा एथलेटिक्स, ज्याभलिन थ्रो, सटपुट, कबड्डी, भलिबल, लङ्जम्प, हायजम्पलगायतका खेलका १५ विधामा छात्र र छात्रातर्फका खेल खेलाइएको थियो । प्रतियोगिताको व्यक्तिगत प्रतिस्पर्धातर्फका विजेता तथा उपविजेताले जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने छन् । उपविजेताबाट नगरस्तरीय समूह बनाएर जिल्लास्तरीय प्रतियोगितामा पठाइने जनक माविका शिक्षक हरिहर अधिकारीले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्