काठमाडौं, ६ बैशाख । थ्री नेसन्स टी–ट्वेन्टी क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको छ । यो सँगै नेपालले दोस्रो जित दर्ता गराएको हो । मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १२ ओभर १ बलमा १ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि कुशल भुर्तेलले अर्धशतकीय पारी खेले । उनले ४१ बलको सामना गर्दै पाँच छक्का र तीन चौकासहित नटआउट ६१ रन बनाए ।
यस्तै, आशिफ शेख ४२ रनमा आउट हुँदा, दीपेन्द्रसिंह ऐरीले नटआउट ६ रन बनाए । भुर्तेल र शेखले १ सय २ रनको पार्टनरसीप खेले । बलिङतर्फ मलेसियाका भिरान्दीप सिंहले एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारे पहिला ब्याटिङमा तानिएको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९ रन बनायो । उसका लागि सेद अजिजले २७, सार्भिन मुनिएन्डीले २० र साफिक सारिफले १५ रन बाहेक अन्य खेलाडीले दोहारो अंकको रन बनाउन सकेनन् ।
बलिङतर्फ नेपालका करण केसीले तीन, सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, साहब आलम र कुशल मल्लले समान एक–एक विकेट लिए । जितसँगै नेपालले दुई खेलबाट चार अंक जोड्दै अंकतालिकको शीर्ष स्थानमा छ । Photo Source : CAN