काठमाडौं, ७ बैशाख । नेकपा (एमाले) का नेता माधव कुमार नेपाल पक्षधर सांसदहरुको बैठक सुरु भएको छ । काठमाडौंको नयाँ बानेश्वरमा रहेको अर्याल होटेलमा नेपाल पक्षधर सांसदहरुको बैठक सुरु भएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आजमात्रै माधव नेपालसहित उनी पक्षधर २७ सांसदहरुलाई स्पष्टीकरण सोध्दै कारबाही गर्ने संकेत गरेपछि नेपाल पक्ष आकस्मिक छलफलमा जुटेको हो । नेता नेपाललाई त पाँच पृष्ठ लामो स्पष्टीकरण सोधिएको छ । उनलाई दुई दिनभित्र स्पष्टीकरण सोध्दै पार्टीमा फर्किनसमेत भनिएको छ ।
अध्यक्ष ओलीले स्पष्टीकरण सोधेका सांसदहरु माधव नेपालसहित झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, झपट रावल, पवित्रा निरौला, मेटमणि चौधरी, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, भवानी खापुङ, नारायण खतिवडा, जयकुमार राई, गणेश पहाडी, दिपकप्रकाश भट्ट, हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, नीरादेवी जैरु, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, मुकुन्द न्यौपाने हुन् । File Photo/ReportersNepal