काठमाडौं, ८ बैशाख । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक भेटवार्तालाई तिव्रता दिएका छन् । पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला अध्यक्ष ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसँग आज पौने दुई घण्टा भेटवार्ता गरे । दुई नेताबीचको भेटवार्ता आकस्मिक रुपमा तय भएको थियो ।
ओलीसँगको भेटवार्ता अघि नेता नेपाल आफू पक्षधर स्थायी कमिटी सदस्यहरुसँग छलफलमा थिए । उक्त छलफलकै क्रममा उनलाई प्रधानमन्त्री ओलीको फोन आएको थियो । तर, त्यसअघि नेता नेपाल पक्षधर नेता योगेश कुमार भट्टराईले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा पुगी भेटवार्ता गरेका थिए । भट्टराईले पार्टी एकता जोगाउनको लागि गम्भीर हुन र शीर्ष नेताहरुबीच अविलम्ब सम्वाद थाल्न सुझाएका थिए । नभन्दै ओली र नेता नेपालबीच आज साँझ काठमाडौंको नक्सालस्थित् मेरियट होटेलमा भेटवार्ता भयो । उनीहरुबीच सकारात्मक छलफल भएको बुझिएको छ । तर, दुवै नेताले आ आफ्ना अडान कायमै राखेका थिए ।
स्रोतकाअनुसार माधव नेपालसँग भेट्नुअघि प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समेत फोन गरेर कुरा गरेका छन् । उनीहरुबीच के के कुरा भयो ? भन्नेबारे जानकारी गराईएको छैन् । तर, पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको अनुमान गरिएको छ ।
सर्वोच्च अदालतको फागनु २३ गतेको फैसलापछि एमाले र माओवादी केन्द्र अलग-अलग भएका छन् । तर, फागुन २८ गते अध्यक्ष ओलीले एकलौटी बैठक राखेर निर्णय गरेपछि माधव नेपाल पक्ष आक्रोशित छ । नेपाल पक्षधरले पार्टी एकता कायम गर्ने हो भने माओवादीसँग एकता गर्नुपुर्वको अवस्थामा फर्किनुपर्ने अडान लिएको छ । तर, ओलीले भने कुनैपनि हालतमा अब ब्याक नहुने अडान लिएका छन् ।
उता, नेपालले फागुन २८ गतेको निर्णय कुनैपनि हालतमा नमान्ने भन्दै निर्णय फिर्ता लिनुपर्ने अडान राखेका छन् । दुवै नेता आ आफ्नो अडानबाट टसमस भएनन् । स्रोतकाअनुसार दुवै नेताले पुष ५ गतेपछि हालसम्मको अवस्थाको समिक्षा गरेको र कसले के कति गल्ती गरेको ? भन्नेबारेपनि विस्तृत रुपमा समिक्षा गरेका थिए । उनीहरु पूनः वार्तामा बस्ने सहमति भएको छ । File Photo/ReportersNepal