Logo

वाणिज्य बैंकको व्यवसाय साढे २५ प्रतिशतले वृद्धि



काठमाडौं, बैशाख ९ । कोभिड–१९ को १ वर्षबीचमा नेपालको अर्थतन्त्रमा व्यापक क्षति पुर्‍याए पनि वाणिज्य बैंकहरूको व्यवसायमा भने खासै प्रभावित भएको देखिँदैन ।अधिकांश उद्योग तथा व्यवसाय प्रभावित भए पनि गत आर्थिक वर्ष (आव) २०७६/७७ को चैतसम्मको तुलनामा चालू आव २०७७/७८ को सोही अवधिसम्म बैंकहरूको कर्जा प्रवाह थप २५ दशमलव ६३ प्रतिशतले वृद्धि भएको छ ।

यसअवधिमा २७ ओटा वाणिज्य बैंकहरूबाट ७ खर्ब २९ अर्ब रुपैयाँ बराबरको थप कर्जा प्रवाह भएको छ । वाणिज्य बैंकहरूबाट कर्जा वृद्धि हुँदा चालू आवको चैतसम्ममा कुल कर्जा प्रवाह ३५ खर्ब ७३ अर्ब पुगेको छ । यसअघिको चालू आवसम्ममा वाणिज्य बैंकको कुल कर्जा २८ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको थियो ।

गत आवको चैत १० गतेदेखि यता ३ महीनासम्म पूर्णरूपमा बन्दाबन्दी भयो र यसपछि आंशिक रूपमा खुले पनि यस बीचको १ वर्षमा वाणिज्य बैंकहरूको व्यवसाय सन्तोषजनक भएको बैंकरहरू बताउँछन् । पछिल्लो समय क्रमशः अर्थतन्त्र चलायमान हुन थालिरहँदा कोभिड संक्रमणको दोस्रो लहरले भोलिको दिनमा बैंकको व्यवसाय विस्तारमा थप चुनौती देखिएको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन् ।

दोस्रो लहरको कोभिडले फेरि अधिकांश व्यवसाय प्रभावित हुनसक्ने उनले आशंका व्यक्त गरे । पर्यटन व्यवसाय बढी प्रभावित भए पनि अन्य क्षेत्रमा कर्जा प्रवाह भएकाले निरुत्साही हुन नपरेको ग्लोबल आईएमई बैंकका डेपुटी सीईओ महेश शर्मा ढकाल बताउँछन् ।

बैंकहरूको कर्जा प्रवाहमा क्रमशः सुधार भएको छ । चालू आव शुरू भएदेखि ऋणी आकर्षित गर्न कर्जा प्रवाहमा विभिन्न स्किम ल्याएको एनआईसी एशिया बैंकको थप कर्जा वृद्धिसँगै कुल कर्जा प्रवाह सबैभन्दा बढी रहेको छ ।

बैंकले ८४ अर्ब ८९ करोड अर्थात् ४८ दशमलव ४८ प्रतिशतको थप कर्जा वृद्धि गर्न सफल भएको छ । कर्जा वृद्धि गर्दा सो बैंकको कुल कर्जा २ खर्ब ५९ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्