Logo

पार्टीमा रहन नदिन दाउपेच गरेको आरोप



काठमाडौं, बैशाख १० । माधव नेपाल समूहले पार्टी अध्यक्ष ओलीले आफूहरूलाई पार्टीमा रहन नदिने अनेक दाउपेच गरेको आरोप लगाएका छन् । ७२औं पार्टी स्थापना दिवसको सन्दर्भमा बिहीबार एक अपिल जारी गर्दै नेपाल समूहले आफूहरूलाई एमालेमा रहन नदिन अनेक दाउपेच गरिएको उल्लेख गरेका छन् ।

२८ फागुनको गुट भेलालाई नै पार्टी केन्द्रीय कमिटी बैठक मान्ने कुराले त्यही देखाउँछ भन्दै अपिलमा नेपाल समूहले आफूहरूले पार्टी एकता जोगाउन चाहेको जनाएका छन् ।

अपिलमा एमालेको एकता बचाऔं, कम्युुनिस्ट आन्दोलनको रक्षा गरौं भनिएको छ । २८ फागुन र त्यसपछि भएका कथित बैठक र तिनका अवैध निर्णय सबै रद्द गरिनुपर्ने माग गर्दै अपिलमा २ जेठ २०७५ मा जुन केन्द्रीय कमिटी थियो त्यसको पूर्णबैठक बसेर अब कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा निर्णय गर्नुपर्ने उल्लेख गरिएको छ ।

‘यसबाट मात्र एमालेको एकता जोगिन्छ, एकता जोगाउन सकियो भने नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने आधार जोगिन्छ, अपिलमा भनिएको छ । यस्तो सामान्य प्रस्तावलाई स्वीकार नगर्नु नै ओली पार्टी विभाजनमा लागेको प्रमाणित भएको आरोपसमेत लगाइएको छ ।

नेपाल समूहले गरेको अपिलमा पछिल्लो समय ओलीले चालेका कदम एमाले विभाजन हुनुका साथै कम्युनिस्ट आन्दोलन विसर्जनको दिशामा रहेको जनाइएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्