Logo

डिनर चल्दै गर्दा वामदेव बालुवाटारबाट बाहिरिएको खुलासा, ओलीसँग जान नसकिने जवाफ



काठमाडौं, १० बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेता वामदेव गौतमबीच हिजो डिनर भेटवार्ता भएको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको डिनर बैठक सकारात्मक नभएको खुल्न आएको छ । उक्त डिनरमा प्रधानमन्त्री ओली र नेता गौतमसँगै कानूनमन्त्री लिलानाथ श्रेष्ठ र एमाले प्रमुख सचेतक विशाल भट्टराई पनि सहभागी थिए ।

भेटवार्ताका तस्विर उनै भट्टराईले सामाजिक सञ्जाल फेशबुकमार्फत सार्वजनिक गरेका थिए । उनले ओली र गौतमबीचको सम्वादसमेत उद्धृत गर्दै फेशबुकमा लेखेका थिए-“सम्माननीय प्रधानमन्त्रीज्यूको निवास वालुवाटारमा प्रमसङको सम्बादपछि उहाँले भन्नुभो केपी ओलि देशको प्रधानमन्त्री हो, नेकपा९एमाले० को अध्यक्ष हो तर उहाँसङको मेरो सम्बन्ध पदका कारणले बनेको हैन जमानादेखिको हो र अटुट रहिरहनेछ ।ुु अब कमरेड बामदेब गौतमले के गर्नुहोला भन्ने आम जिज्ञासाको जवाफ यसैमा खोज्ने त होला नि !”

तर, प्रधानमन्त्री ओलीसँगको हिजोको डिनर बैठक सकारात्मक नभएको कुरा गौतमको सचिवालयले जनाएको छ । गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले फेशबुकमार्फत गौतम र प्रधानमन्त्रीबीचको हिजोको डिनर बैठकका धारणा सार्वजनिक गरेका छन् । उनकाअनुसार गौतमलाई प्रधानमन्त्री ओलीले पार्टी काममा आफूसँग फर्कन अनुरोध गरेका थिए । त्यसको जवाफमा गौतमले फागुन २८ गतेको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेका थिए । ओलीले ती निर्णय फिर्ता हुँदैनन भनेपछि गौतम पनि आफू ओलीसँग आउन नसक्ने जवाफ दिएर बाहिरिएका थिए । कतिसम्म भने गौतम डिनर चल्दै गर्दा नमस्कार गरेर विदा भएका थिए ।

सुवेदीले लेखेका छन्-सबैको जानकारीका लागि ! हिजो ९ गते क। केपीसँग बेलुकी ८ वजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो। उहॉले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो। मैले गत फागुन २८ गते तपाइले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरें। उहाँले ती निर्णय फिर्ता हुदैनन् भन्नुभयो। त्यसो भए म तपाईंसँग आउन पनि सक्दिन भनेर जवाफ दिए। डिनर चल्दै थियो नमस्कार गरेर म विदा भए ।
वामदेव गौतम, १० वैसाख २०७८”  Photo Source: Bishal Bhattarai/Facebook



प्रतिक्रिया दिनुहोस्