काठमाडौं, १० वैशाख । नेकपा एमालेभित्रको विवादलाई कि वार कि पारको अवस्थामा लान नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल अगाडि बढेका छन् । उनीहरुले अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्तामा बस्ने तयारी गरेका छन् ।
नेपालले ओलीसँग दुई चरणमा होटल मेरियटमा वार्ता गरिसकेका छन् । तर, वार्तापछि पनि नेपालले आफू सन्तुष्ट हुन नसकेको प्रतिक्रिया दिएका छन् । ओली र नेपाल दुवै ब्याक नभएपछि सहमति बन्न नसकेको हो ।
एमाले नेता झलनाथ खनालले नेपाललाई ओलीसँग एक्लाएक्लै वार्ता नगर्न भनेका छन् । एक्लाएक्लै वार्ताबाट सहमति निस्कन नसक्ने स्पष्ट पारेका छन् ।
अर्का एमाले नेता बामदेव गौतमले ओलीसँग डिनर बैठक गरेका छन् । उनले स्पष्टसँग २ जेठ २०७५ को अवस्थामा एमालेलाई लगेमा मात्र सहमति निस्कन सक्ने जवाफ दिएर फर्किएका छन् । तर, ओली महाधिवेशनका लागि अगाडि बढ्नेबाहेक विकल्प नभएको भन्दै आएका छन् ।
नेपाल र खनाल २ जेठ २०७५ को अवस्थामा एमालेलाई लगेर पार्टी निर्णय अनुसार चल्नुपर्नेबाहेकमा तयार छैनन् । ओली अगाडि बढिसकेकाले पछाडि हट्ने पक्षमा छैनन् । त्यसैले अब नेपाल र खनालले वार कि पारका लागि निर्णायक वार्ताका लागि तयारी गरेका छन् ।
राजनीतिक परिस्थितिले कुनैपनि बेला चुनावमा देश जानसक्ने र चुनाव घोषणा भइसकेपछि नयाँ पार्टी दर्ता गर्न नमिल्ने हुनसक्छ । त्यस अगावै नेपाल र खनाल एमाले विवादलाई टुंगोमा लगेर बढ्ने तयारीमा छन् ।