काठमाडौं, १० वैशाख । नेकपा एमालेले कर्णाली प्रदेशमा पार्टी ह्वीप उल्लंघन गरेर फ्लोर क्रस गर्ने ४ प्रदेशसभा सांसदलाई कारबाही गर्ने भएको छ । आज बस्ने नेकपा महाधिवेशन आयोजक कमिटी बैठकले सांसद पदबाट मुक्त गर्ने सिफारिश प्रदेशसभामा गर्ने भएको हो ।
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाउन प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापाले फ्लोर क्रस गरी पक्षमा मतदान गरेका थिए । विश्वासको मत लिन शाही सफल भएसँगै केन्द्रीय राजनीतिसम्म तरंग आएको थियो । शाहीको पक्षमा मतदान गर्नेमध्ये तीनजना प्रदेश सरकारको मन्त्री बनाइएका थिए ।
चारजनामध्ये प्रकाश ज्वाला २०५६ सालको चुनावमा सल्यानबाट निर्वाचित सांसद थिए । माधवकुमार नेपाल निकट ज्वालासहित चारजनालाई ओलीविरोधी एमालेको एउटा पक्षको निर्देशनमा फ्लोर क्रस गर्न लगाएको थियो । माधव नेपालको ठाडो निर्देशनमा कर्णालीमा फ्लोर क्रस भएको थियो ।
केन्द्रमा ओलीमाथि दबाब सृजना गर्न नेपालले आफू निकट ४ जनालाई फ्लोर क्रस गर्न लगाएपछि उनीहरुको राजनीतिक भविष्यबारे टिकाटिप्पणी भइरहेको छ । ज्वालाले कम्युनिस्ट एकताका लागि कठोर कदम चालेको प्रतिक्रिया दिइसकेका छन् । तर, भविष्यमा एमालेको ओली पक्ष बलियो भइरहेमा उनीहरुको राजनीति निकै संकटमा पर्न सक्छ । कतिपयले उनीहरुलाई बलीको बोको बनाइएको टिप्पणी पनि गरेका छन् ।