काठमाडौं, १० बैशाख । नेकपा (एमाले) महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा माधवकुमार नेपालसहित उनी पक्षधर २७ जना सांसद र कर्णाली प्रदेशका पाँच सदस्यहरुमाथि कारबाहीको तयारी छ ।
यसअघि बैशाख ६ गते बसेको बैठकले नेता नेपाल पक्षधर ३२ सांसदहरुलाई स्पष्टीकरण सोधिएको थियो । सबैको जवाफ बालुवाटार पुगिसकेको छ । उनीहरुले दिएको स्पष्टीकरण पत्रबारे आजको बैठकमा निर्णय गरिने एक नेताले जानकारी दिए ।
हिजोमात्रै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता भएको थियो । तर, अस्ति र हिजो भएको भेटवार्ता सकारात्मक नभएको स्वयम नेता नेपालले स्पष्ट पारिसकेका छन् । उनले जनकपुर पुगेर ओलीसँगको वार्ता सकारात्मक नभएको र ओलीमा अझैपनि दम्भ कायम रहेको सुनाएका थिए । उनले अब ओलीविरुद्ध आफूहरु एकताबद्ध भएर लड्ने पनि जनाएका थिए ।