काठमाडौं, बैशाख १२ । आर्थिक वर्ष २०७६/७७ मा कोभिड–१९ महामारीका कारण समग्र अर्थतन्त्र प्रभावित भए पनि मोबाइल फोनको बजार भने झनै बढेको छ । बन्दाबन्दी खुकुलो भएपछि गतवर्ष साउनदेखि नै मोबाइल फोनको आयात दोब्बरले बढेकोमा चालू आवको नवौं महीनासम्ममा व्यवसायमा कमी आएको छैन ।
चालू आर्थिक वर्षको पहिलो ९ महीनामा नेपालमा २९ करोड ६९ लाख बराबरको मोबाइल फोन नेपाल भित्रिएको छ । यो अघिल्लो वर्षको अवधिको तुलनामा दोब्बर बढी हो । अघिल्लो आवको यही अवधिमा १४ अर्ब ६२ करोडको मोबाइल फोन भित्रिएको थियो ।
यस अवधिमा नेपालमा ५८ लाख ७१ हजार सेट मोबाइल भित्रिएको छ । यो अघिल्लो वर्षको तुलनामा २० लाखभन्दा बढी हो, आव २०७६/७७ को चैतसम्ममा ३८ लाख ४७ हजार सेट मोबाइल आयात भएको थियो । गत आर्थिक वर्षमा सरकारले बजेटमार्फत मोबाइल फोन आयातमा गरेको केही सहजताका कारण बढेको हो । तर, कोरोना शुरू भएर २०७६ चैत दोस्रो सातादेखि देशव्यापी बन्दाबन्दी भएपछि व्यवसायीहरू चिन्तित भएका थिए । तर, बन्दाबन्दी खुकुलो भएपछि असारदेखि नै मोबाइलको माग ह्वात्तै बढेपछि अन्य क्षेत्रको तुलनामा यो क्षेत्रले गति लिएको हो ।
नेपाल मोबाइल फोन आपूर्ति संघका उपाध्यक्ष सञ्जय अग्रवालका अनुसार कोरोनाले मानिसहरूको जीवनशैली बदलेर डिजिटल व्यवहारलाई प्रवद्र्धन गरेपछि मोबाइल ग्याजेटप्रति आकर्षण बढेको हो । अनलाइन काम, पढाइदेखि बन्दाबन्दीका कारण समय कटाउन धेरै समय मोबाइलमा बिताउने चलन बढेपछि मोबाइल फोनको विक्री ≈वात्तै बढेको थियो । आर्थिक अभियान दैनिकबाट