Logo

माथिल्लो तामाकोसीको मुख्य सुरूङमा सोमबारदेखि पानी पठाइने



चरीकोट, वैशाख १२ । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले सोमबारदेखि मुख्य सुरुङमा पानी पठाउने भएको छ ।

त्यससँगै तामाकोसीदेखि सुनकोसी दोभानसम्म पानीको विविध क्षेत्रमा हुने प्रयोगमा रोक लगाएको छ ।आयोजनामा निर्मित जलाशयमा पानी भर्ने र सोमबारदेखि मुख्य सुरुङमा पानी पठाउने काम हुन लागेकाले सुरक्षित रहन यसरी रोक लगाइएको आयोजना प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए ।

उनका अनुसार सुरु गरिएको पानी परीक्षणका क्रममा तामाकोसीको पानी रोक्ने र छोड्ने काम गर्नुपर्ने हुन्छ । पानी रोक्ने र छोड्ने काम गर्दा कुनै बेला एकै पटक धेरै मात्रामा पानी छोड्नुपर्ने पनि हुनसक्छ ।

यसो गर्दा बाँधदेखि तल्ला तटीय क्षेत्रअन्तर्गत किनारामा पर्ने स्थानमा पानी घटबढ भइरहन सक्छ । यो बेलामा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, ढुङ्गा बालुवा निकाल्ने, बस्तुभाउ ओसारपसार गर्नेलगायतका काम नगर्न आग्रह गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्