Logo

माधव नेपालमाथि थप कारबाही गर्नबाट ओली किन रोकिए ?



काठमाडौं, १२ वैशाख । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आकस्मिक बैठक डाकेपनि माधव नेपालसहित केही सांसदमाथि थप कारबाही गर्नबाट रोकिएका छन् । उनले आकस्मिक बैठक डाकेर नेपालसहित उनी पक्षधर केही सांसदलाई पदमुक्त गर्ने सिफारिशको निर्णय गर्ने तयारी गरेका थिए । तर, उनी एकाएक रोकिए ।

ओलीलाई निकटस्थहरुले नै अझै वार्ताबाट सहमति निकाल्न सुझाव दिएको बुझिएको छ । एमालेलाई फुटबाट जोगाउनुपर्ने भन्दै संयम भई बढ्न भनेका थिए ।

संविधान अनुसार ओलीले माधव नेपालसहित प्रत्यक्षतर्फ निर्वाचित सांसदलाई पदमुक्त गर्न मिल्दैन । हटाउने सूचीमा माधवकुमार नेपाल र झलनाथ खनालसहित २७ सांसद राखिएका छन् । तीमध्ये अधिकांश प्रत्यक्ष निर्वाचित सांसद छन् ।

संविधानको धारा ८९ मा स्पष्ट रुपमा संघीय संसद सदस्यको स्थान रिक्त हुने ६ वटा प्रावधान राखिएको छ । त्यसको ख मा धारा ८७ बमोजिमको योग्यता नभएमा वा नरहेमा सांसद पद रिक्त हुने व्यवस्था पनि छ । धारा ८७ ले ५ वटा उपधारा राखेर सांसद हुने योग्यता उल्लेख गरेको छ । योबाहेकको अवस्थामा सांसद पद रिक्त हुन्छ ।

माधव नेपालसहित २७ जना नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय पाएको, लाभको पदमा बहाल रहेको अवस्था छैन । यसकारण पनि उनीहरुको सांसद पद रिक्त हुने कानुन कमजोर छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्