काठमाडौं, १३ वैशाख । गण्डकी प्रदेशमा आजबाट शुरु विशेष अधिवेशनले अविश्वासको प्रस्तावको छिनोफानो गर्दा केही मतमात्रले फरक पर्ने भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई कम्तिमा ३ मत अन्य दलबाट खाँचो छ ।
एमालेबाट फ्लोर क्रस नभएमा ३ मत पाएमा गुरुङ्गको पद बच्न सक्छ । त्यसका लागि राष्ट्रिय जनमोर्चा र जसपा निर्णायक शक्ति बन्न सक्छन् ।
गण्डकी प्रदेशमा जसपा सांसद डा. बाबुराम भट्टराई निकट छन् । उनीहरु अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्न सत्ताको बार्गेनिङमा छन् । दुवैजनाले मन्त्री बन्ने शर्त राखेको बुझिएको छ ।
जसपाको महन्थ ठाकुर पक्षधरले भने गण्डकी प्रदेशमा तटस्थ बस्नुपर्नेमा जोड दिएको छ । ठाकुर पक्ष ओली पक्षसँग मिलेर सत्ता समिकरण बनाउनुपर्ने पक्षमा छ ।
लुम्बिनीमा पार्टीको निर्णय विपरित ४ जना जसपा सांसदले निर्णय बदलेर मन्त्रीको सपथ लिइसकेका छन् ।