काठमाडौं, १४ बैशाख । जनता समाजवादी पार्टी, नेपालको हाईकमाण्ड बैठक जारी छ । पार्टी मुख्यालय बालकुमारीमा जारी बैठकमा अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, नेताहरु राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी छन्। उनीहरुको बैठकले आज सरकारलाई समर्थन गर्ने कि वर्तमान सरकारलाई विस्थापित गर्ने भन्नेबारे महत्वपूर्ण निर्णय लिने बुझिएको छ ।
जसपाभित्र यतिवेला सत्ता समिकरणको लागि दुई धार देखिएको छ । अध्यक्ष ठाकुर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने पक्षमा उभिएका छन् । तर, अर्का अध्यक्ष उपेन्द्र यादव भने कुनैपनि हालतमा ओलीलाई सत्ताबाट च्यूत गर्नुपर्ने पक्षमा छन् । यो बीचमा ठाकुरले प्रधानमन्त्री ओलीसँग लगातार सम्वाद गरेका छन् । जसपाले अघि सारेका सबै माग पूरा गर्न प्रधानमन्त्री ओली तयार देखिएका छन् । File Photo/ReportersNepal