काठमाडौं, बैशाख १५ । कोभिड–१९ का कारण काम गर्ने वातावरण नबन्दा चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने भएको छ । चालू आवको दोस्रो चौमासिकमा सङ्घीय सडक निर्माणले गति लिन थालेको भए पनि पुनः कोभिड–१९ संक्रमण बढिरहेकाले काममा बाधा पुग्न थालेको सडक विभागले बताएको छ । गत आवमा अन्तिम चौमासिक र चालू आवको पहिलो चौमासिकसम्म सरकार र वैदेशिक लगानी गरी दुवै किसिमका निर्माणमा अवरोध पुगेको विभागका उपमहानिर्देशक शिव नेपालले बताए ।
उनका अनुसार संक्रमितको संख्या कम भइरहँदा निर्माणले गति लिन थालेको थियो । अहिले विभिन्न जिल्लामा बन्दाबन्दी शुरू भइसकेकाले निर्माणमा पुनः बाधा पुग्न थालेको उनले बताए । बन्दाबन्दी लागू भएका जिल्लासँगै त्यस आसपासका जिल्लामा समेत बाधा पुग्ने उनले बताए ।
चालू आवमा दोस्रो चौमासिकसम्म आर्थिक प्रगति ३५ प्रतिशत पुगेको विभागले बताएको छ । एक हजार ८०० किमी सडक कालोपत्रको लक्ष्य लिइएकोमा अहिलेसम्म ५५० किमी र तीन सय पुल निर्माण गर्ने लक्ष्य लिइएकोमा अहिलेसम्म १२९ पुल सम्पन्न भएको विभागले बताएको छ ।
पहिलो चौमासिकमा देशभर संक्रमितको संख्या उच्च भएकाले कुनै पनि ठाउँमा नयाँ मानिस गएर काम गर्ने वातावरण नभएको उनले बताए । कुनै पनि ठाउँमा निर्माण व्यवसायीले कामदारलाई छुट्टै ‘क्याम्प’ बनाएर राख्दा काम गर्न केही सजिलो भए पनि अरूको घरमा बसेर काम गर्ने अवस्था थिएन । कामदारलाई भाडामा बस्नै नदिएकाले काममा बाधा पुगेको थियो ।आर्थिक अभियान दैनिकबाट