दमौली, १५ वैशाख । हालसम्म विद्युत् सुविधा नपुगेको तनहुँका ग्रामीण भेगमा तनहुँ जलविद्युत् आयोजनामार्फत विद्युतीकरणको काम अगाडि बढेको छ । विद्युत् सेवा नपुगेका तनहुँका विभिन्न ठाउँमा आयोजनामार्फत विद्युतीकरणको काम अगाडि बढेको हो ।
आयोजनामार्फत जिल्लाका घिरिङ, ऋषिङ गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी र देवघाट गाउँपालिकाका विद्युत् नपुगेका घरधुरीमा विद्युतीकरण गरिने इन्जिनीयर लक्ष्मण रेग्मीले जानकारी दिए।
तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँमा विद्युतीकरण गर्न प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजना कार्यान्वयन गर्न इष्ट इन्डिया उद्योग÷वाइवा इन्फ्राटेक जेभीसँग विसं २०७५ मङ्सिर १३ गते ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताको रकम अमेरिकी डलर ६१ लाख ५३ हजार अमेरिकी डलर र रु १४ करोड ८८ लाख रहेको छ । ठेकेदार कम्पनीले विद्युतीकरण नभएका क्षेत्रको पहिचान गरी सर्भे तथा डिजाइन सम्पन्न गरिसकेको छ । कम्पनीले ३३÷११ केभी वितरण लाइन निर्माण गर्नेछ ।
विद्युतीकरणका लागि घिरिङ गाउँपालिका–४ कोटसाभुङ र बन्दीपुर गाउँपालिका–६ साराङघाटमा सबस्टेशन निर्माणको काम भइरहेको छ । तनहुँ जलविद्युत् आयोजनामार्फत जिल्लाका आठ हजार घरधुरीमा विद्युतीकरण गरिनेछ । ती घरधुरीमा विद्युतीकरणका लागि रु ८८ करोड बजेट खर्च हुनेछ । “६÷८ एमभिए क्षमताको दुईवटा सबस्टेशन निर्माणाधीन अवस्थामा छ, असार मसान्तभित्र काम सम्पन्न गर्ने भनिए पनि विविध कारणले काममा ढिलाइ भयो”, उनले भने ।
उक्त आयोजनामार्फत केही दिन अगाडि बन्दीपुर गाउँपालिका–६ को खहरे, ढाप, थुमथुमे तथा व्यास नगरपालिका–१४ को मास्दीघाट, सुढे रिजाल्दीको ११५ घरमा बत्ती बलेको छ । बत्ती बलेसँगै उक्त ठाउँ अन्धकारमुक्त भएका छन् । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले उक्त वडामा बत्ती बलेसँगै गाउँपालिकाका सबै घरधुरीमा विद्युत् पहुँच पुगेको जानकारी दिए ।
आयोजनामार्फत नै देवघाट गाउँपालिका–१ मा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगिसकेको छ । देवघाट गाउँपालिका–५ स्थित देवपुरबाट ११ केभी लाइनमार्फत कालीटार, कोटा र गोपीटारमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको हो । त्यस क्षेत्रमा पहिले लघु जलविद्युत्मार्फत विद्युत् आपूर्ति भइरहेको थियो । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि जग्गा अधिग्रहणको काम पनि अगाडि बढिसकेको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गतको २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि आयोजनाले तनहुँतर्फको जग्गा अधिग्रहणको काम अगाडि बढाएको हो । रासस