काठमाडौं, १६ बैशाख । काठमाडौँ उपत्यकामा आजदेखि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधको आदेश (निषेधाज्ञा) लागू गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको निर्णयानुसार आज बिहान ६ बजेदेखि नै उक्त आदेश कार्यान्वयनमा आएको हो । आदेश लागू भएसँगै उपत्यकाका तीनै जिल्लामा अत्यावश्यक कामबाहेकका गतिविधि सञ्चालनमा रोक लगाइएको छ भने अन्य जिल्लाबाट समेत प्रवेश गर्न पाइने छैन । काठमाडौं उपत्यकामा भने पासधारी सवारीसाधन चलिरहेका छन् । ठाउँठाउँमा ट्राफिक प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् ।
निषेधाज्ञा आदेशानुसार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्र्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न पाइने छैन । विवाह व्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्ड पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ । विवाहमा जाँदा ब्यानरसहित दुई वटा मात्रै गाडी प्रयोग गर्नुपर्ने छ । विवाहमा जाँदा जिल्ला वा अन्तर जिल्लाका लागि पास नचाहिने तर पार्टी प्यालेस प्रयोग गर्दा भने अनिवार्य पास चाहिने छ ।
तस्विरमा हेरौं निषेधाज्ञापछि काठमाडौंको अवस्था :
सबै तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम