वैशाख १६, काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाडौले सरकारले लागू गरेको निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन भएको जनाएको छ । निषेधाज्ञाको पहिलो दिन कार्यालय समयमा केहि भीड देखिएपनि समग्रमा निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन भएको प्रशासन कार्यालयले जनाएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले राजमार्गमा होल्डमा परेका यात्रुहरुलाई सहजीकरण गर्दै गन्तव्य स्थलमा पुराइसकिएको दाबी गरेका छन् । उनले कलंकी र बसपार्कमा पनि अलपत्र परेको यात्रु नभेटिएको भएपनि कोहि यात्रु अलपत्र परेको पाइए उद्धार गरिने बताए । त्यस्तै प्रशासन कार्यालयमा पासका लागि भिड भएको भन्दै उनले अत्यावश्यक कामका लागि प्रहरीले सहजीकरण गर्ने र पासका लागि प्रशासन कार्यालय आउन नपर्ने बताएका छन् ।
यता काठमाडौं महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । पछिल्लो समय कोरोना भाइरसका बिरामीको सङ्ख्या बढ्दै गएपछि काठमाडौं महानगरले १० वटा निशुल्क एम्वुलेन्स सेवा शुभारम्भ गरेको हो । एम्वुलेन्स सेवा सञ्चालन गर्न महानगरले बिहीबार एम्वुलेन्स चालक संघसंग सम्झौता पनि गरेको छ ।
सहकार्य गरेको नेपाल एम्बुलेन्स सेवा १०२ ले कोभिड पोजेटिभ भएका बिरामीलाई निःशुल्क अस्पताल पु¥याउने महानगरका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । यसबाहेक अन्य समस्या भएका बिरामीलाई अस्पताल लैजान महानगरका विभिन्न क्षेत्रमा अहिलेलाई १० वटा निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको छ । त्यस्तै उनले कोरोना संक्रमणलाई न्युनिकरण र रोकथाम गर्न सरकारले लागू गरेको निषेधाज्ञा पालना गराउन महानगर गम्भीर रहेको बताए ।