काठमाडौं, बैशाख १७ । राष्ट्रिय सभातर्फको एक पदका लागि ६ जेठमा हुने तय भएको उपनिर्वाचनका लागि पाँचवटा दल दर्ता भएका छन् । बाग्मती प्रदेशतर्फको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टी दर्ता भएका हुन् ।
आयोगले उपनिर्वाचनका लागि बिहीबार राजनीतिक दल दर्ता टुंग्याएको हो भने दर्ता भएका दलहरूलाई निर्वाचन चिह्न दिँदै मतपत्रमा उनीहरूको क्रम संख्यासमेत निर्धारण गरिदिएको हो । यी विषयसहित आयोगले उपनिर्वाचनमा मतदान गर्ने मतदाताहरूको नामावलीसमेत टुंग्याएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
जसअनुसार उपनिर्वाचन प्रयोजनका लागि एमालेले सूर्य चिह्न पाएको छ भने मतपत्रमा एमालेको क्रम संख्या एक निर्धारण भएको छ । यसैगरी, कांग्रेसले चिह्न रूख पाएको छ भने क्रम संख्या दुई निर्धारण भएको छ ।
यस्तै, माओवादी केन्द्रले गोलाकारभित्रको हँसिया हथौडा चिह्न पाएको छ भने क्रम संख्या तीन निर्धारण भएको छ । यसैगरी राप्रपाले चिह्न हलो पाएर मतपत्रको क्रम संख्या चार पाएको छ भने नेमकिपालाई मादल चिह्न पाएर मतपत्रको क्रम संख्या पाँच निर्धारण गरिएको छ ।
त्यस्तै, आयोगले निर्वाचनका लागि टुंगाएको कुल मतदाताको संख्याअनुसार प्रदेशसभा सदस्य १ सय १० जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २ सय ३८ जना गरी जम्मा ३ सय ४८ जना मतदाता रहने जनाएको आजको राजधानी दैनिकमा खवर छ ।