काठमाडौं, बैशाख १७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिन्डरलगायत स्वास्थ्य सामग्रीको आयातमा पूर्ण कर छूट दिने बताएको छ । गत सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले अक्सिजन सिलिन्डरलगायत स्वास्थ्य सामग्री आयातमा भन्सार छूट दिने निर्णय गरेको थियो ।
उक्त निर्णयलाई कार्यान्वयन गर्दै मन्त्रालयले स्वास्थ्य सामग्री आयातमा भन्सार शुल्क, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क करसमेत छूट दिने बताएको हो । मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाका अनुसार अक्सिजन सिलिन्डर, मेडिकल अक्सिजन, आईसीयू बेड, अक्सिजन सिलिन्डर ढुवानीका साधन, ब्लड ग्यास एनालाइजर, सिरिन्ज पम्प, भेन्टिलेटरमा प्रयोग हुने हेल्मेटलगायत सामग्रीको आयातमा कर छूट दिने निर्णय गरिएको हो । कोरोनाका बिरामीको शरीरमा अक्सिजनको मात्रा घटेपछि अक्सिजनको सहायताले उपचार गर्ने गरिन्छ ।
नेपालमा अक्सिजन उत्पादन हुने भए पनि सिलिन्डर भने नेपालमा बन्दैन । आर्थिक अभियान दैनिकमा खवर छ ।