काठमाडौं, २० वैशाख । ४५ वर्षअघि पश्चिम बँगालमा भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादी नेतृत्वको दुई तिहाईको सरकार गठन हुँदा सायदै कसैले सोचेको थियो कि कुनै समय सोही पार्टी सून्य सिटमा झर्छ । कम्युनिस्ट नेता ज्योती वसु मुख्यमन्त्री बनेपछि बँगाल भारतको एउटामात्र यस्तो राज्य बन्यो जहाँ कम्युनिस्टहरुले एकछत्र राज्य गरिरहे ।
सन् १९७७ देखि २०११ सम्म ३५ वर्ष पश्चिम बँगालमा कम्युनिस्ट पार्टी नेतृत्वको सरकार बनिरह्यो । ज्योति बसु पाँच पटक र बुद्धदेव भट्टचार्यले दुईपटक मुख्यमन्त्रीका रुपमा बँगाललाई चलाए । तर, सन् २०११ को विधानसभा चुनावमा तृणामूल कँग्रेसकी ममता बेनर्जीको उदयसँगै कम्युनिस्टको गढ भत्कियो । ३५ वर्ष लामो कम्युनिस्ट सरकार गर्लामगुर्लुम ढल्यो । यसरी ढल्यो कि कहिले उठ्न नसक्ने देखियो ।
बँगालमा कम्युनिस्ट सरकार ढलेको १० वर्षपछिको विधानसभा चुनावमा कम्युनिस्ट पार्टी सून्य सिटमा झर्यो । जुन अस्वाभाविक थिएन । कम्युनिस्ट पार्टीका नेताहरु पार्टी छाडेर धमाधम तृणामूल कँग्रेस र भाजपामा जोडिन पुगेका थिए । पार्टी परिवर्तन गरे तर धेरै नेता उही भए । अर्थात् व्यक्तिले सिद्धान्त त्यागेर दलको ट्याग फेरे ।
त्यसो त सन् २०१९ को लोकसभा चुनावमा बँगालमा कम्युनिस्टहरु सून्यमा झरिसकेका थिए । त्यसले पनि कम्युनिस्टको दिन बँगालमा गयो भन्ने धेरैले अनुमान गरिसकेका थिए । २०११ बाट निरन्तर ओरालो लागेका कम्युनिस्ट पार्टी २०१६ को विधानसभासम्म ३० सिटमा झरेका थिए । त्यसको ठिक ५ वर्षपछि २०११ मा सून्यमा झरे ।
२०२१ को विधानसभा चुनावमा पनि कम्युनिस्ट पार्टी प्रतिस्पर्धामा खासै देखिएन । मुख्य प्रतिष्पर्धा तृणामूल कँग्रेस र भाजपाबीच देखियो । कुनै समय बँगालमा सून्य अवस्थामा रहेको भाजपाले यसपटक ७७ सिटमा जित हासिल गर्यो । २०१६ को विधानसभामा पनि भाजपा मात्र ३० सिटमा जित हासिल गर्न सफल भएको थियो । यो पटक भाजपाले ४७ सिट वृद्धि गरेर ७७ सिटमा जित हासिल गरेको छ । बँगालमा भाजपाको सरकार नै बनाउने महत्वाकांक्षा देखिन्थ्यो । तर, त्यो सफल भने हुन सकेन ।
एउटा समय थियो पश्चिम बँगाल कम्युनिस्टको गढ मानिन्थ्यो । भारतमा उठेको कम्युनिस्ट आन्दोलनको जग नै बँगाल थियो । नेपालका कम्युनिस्ट पार्टी स्थापना नै बँगालमा भएको थियो । बँगालका कम्युनिस्टहरुको प्रभावबाट नेपालमा कम्युनिस्ट पार्टीको जन्म भयो । तर, अहिले बँगालमा कम्युनिस्टहरु इतिहासकै कमजोर अवस्थामा पुगेका छन् ।
पश्चिम बँगालमा भएको विधान सभा चुनावको पछिल्लो नतिजा अनुसार भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीले कुनै सिट जित्न सकेन । सन् १९७७ मा पश्चिम बँगालमा भएको विधानसभा चुनावमा कम्युनिस्ट पार्टीले २९४ मध्ये २३१ सिट जितेको थियो । त्यसपछि ३५ वर्षसम्म लगातार दुई तिहाईको जित हासिल गर्दै बँगालमा एकछत्र राज गरिरह्यो ।
सन् २०११ मा भएको विधानसभा चुनावमा कम्युनिस्ट पार्टीलाई पहिलोपटक धक्का लाग्यो । विधानसभामा २९४ सिटमा मात्र ६२ सिट जित्यो । २०१६ मा झण्डै आधा सिट घटेर ३२ मा झर्यो । २०२१ मा सून्य सिट झर्यो ।
कम्युनिस्ट पार्टी सून्य सिटमा झर्दा सत्तारुढ तृणामूल कँग्रेसले २१३, भारतीय जनता पार्टीले ७७ र अन्यले २ सिट जितेका छन् । बँगालको कम्युनिस्ट पार्टीको एकछत्र राज यति छिटो ओरालो लागेर सून्यमा झर्ला भन्ने राजनीतिक पण्डितहरु कमै थिए । तर, राजनीति सम्भावनाको खेल हो । नसोचेको परिणामहरु भइदिन्छ । जुन बँगालमा भयो । –एजेन्सीको सहयोगमा