Logo

यसरी कब्जा गरेका थिए डाक्टर केआई सिंहले सिंहदरबार



डा. गेहेन्द्रमान उदास ‘पोखरेली’ :  राणा–कांग्रेसको संयुक्त सरकारमा आफू गृहमन्त्री हुँदा बीपी कोइरालाले २००७ सालमा सशस्त्र क्रान्ति गर्ने मुक्ति सेनाका जवानहरुलाई ‘पारा मिलिट्री’ का रुपमा रक्षा दलमा परिणत गरी आफ्नो सुरक्षार्थ संगठित गरेका थिए । उनीहरुले आफ्नो सेवा तथा तलब स्थायी गरिने ठूलो आशा र भरोसा राखेका थिए । बीपीले रक्षा दल पुनर्गठन गर्ने व्यक्तिगत अभिभारा पनि लिएका थिए । त्यतिबेला रक्षा दलका जवानहरुको संख्या करिब १२०० थियो ।

मातृकाप्रसाद कोइरालाको सरकारमा बीपी नसमेटिँदा ती जवानहरुमा नैराश्य छाउनु स्वाभाविकै थियो । अधिकांश पूर्वको किरात प्रदेशमा राणा शासनको विरुद्ध विद्रोह गर्ने मुक्ति सेनाका जवानहरु थिए । आफ्नो जागिरको बन्दोबस्त र स्थायी हुने कुरामा निराश र विचलित जवानहरुले एउटा नेतृत्वको अभिलाषा राखेको बुझिन्थ्यो । अग्निप्रसाद खरेल र रामप्रसाद राई, जो किरात राज्य स्थापनाको माग राख्थे, लाई मातृका सरकारको विरोधमा नारा जुलुस गरेकाले पक्रेर ल्याई सिंहदरबारमै डाक्टर केआई सिंहसँग राखिएको थियो । उनीहरुको मिलिभगतमा केही घटना हुन सक्छ भन्ने सामान्य सोचाइ पनि त्यसबेलाको प्रशासनिक निकाय र सरकारले सोच्न सकेनन् ।

त्यसमा पुराना भाइभारदार र प्रशासनका प्रमुखहरुले राजा र नेपाली सेनाको महत्त्व बढाउने र जनता तथा जननेताहरुको महत्त्व र क्षमतालाई दबाउने निहित स्वार्थ राखेका थिएनन् भन्न सकिन्न । उनीहरु पहिले राणाशाहीलाई सर्वेसर्वा बनाएर आफ्नो स्वार्थ पूरा गरिरहेका थिए भने राणाशाही अन्त्य भएपछि राजाशाहीलाई त्यो स्थानमा पुर्याउन चाहन्थे । अन्यथा उनीहरुको परम्परागत स्वार्थ पूरा हुँदैनथ्यो ।

भनिन्छ, रक्षा दलको विद्रोहमा राजा त्रिभुवनका सम्धि हरिशमशेर र छोरा महेन्द्रको पनि भूमिका थियो । किनभने महेन्द्र र गोरखा दल नेपालको भित्री राजनीतिमा भारतको हस्तक्षेप र राजनीतिक पार्टीलाई त्रिभुवनले छाडा छाडेको मन पराउँदैनथे । तर डाक्टर केआई सिंहलाई यी सबै कुरा थाहा थिएन । यस्तो संस्कार र सोचाइ अहिलेसम्म पनि नेपाली समाजका प्रतिक्रियावादीहरुमा रहिरहेको छ ।

त्यो बेला रक्षा दलको हेडक्वार्टर सिंहदरबारमै थियो र त्यहाँको कैदखाना र कार्यालयहरुमा रक्षादल नै तैनाथ थियो ।  ती असन्तुष्ट जवान आफ्ना चिरपरिचित नेता रामप्रसाद राई र अग्निप्रसाद खरेल तथा डाक्टर केआई सिंहजस्ता वीरत्व र जनपक्षको भनिएका व्यक्तिहरुसँग मिल्न सक्छन् भन्ने मातृका सरकारले सोच्न सकेन ।

अर्कातिर, प्रतिक्रियावादीहरुले अग्निप्रसाद खरेलको नेतृत्वमा महेन्द्रको आर्थिक सहयोगमा खोलिएको राष्ट्रिय महासभाको आयोजनामा मातृका सरकार र नेपालको राजनीतिमा हिन्दूस्थानको हस्तक्षेपको विरोध गर्दै उग्र र आपत्तिजनक नारा लगाउँदै जुलुस निकालेको थियो ताकि नेताहरु पक्रियून् र सिंहदरबारको जेलमा राखियोस् र पहिले नै जेलमा रहेका डाक्टर केआई सिंहसँग भेट्न पाइयोस् ।

नभन्दै आफूलाई नेतृत्व गर्ने व्यक्तिको खोजीमा रहेका रक्षा दलका जवानहरुले  डाक्टर केआई सिंहलाई पाए । उनैको नेतृत्वलाई स्वीकारेर सिंहदरबारको रेखदेखमा रहेका रक्षा दलका १२०० जवानहरुले २००८ माघ ८ गते राति साढे ११ बजे केआई सिंहसमेत अन्य नेता र बन्दीहरुलाई थुनाबाट निकाले । त्यसरी निकालिएका राजबन्दीहरुमा रामप्रसाद राई, टेकप्रसाद ठकुरी (मल्ल), अग्निप्रसाद खरेल र केआई सिंहका दाहिने हात मानिने खड्गबहादुर गुरुङ प्रमुख थिए । उनीहरुले छिनभरमै सिंहदरबार, मुलुकी खाना, तोपखाना, बारुदखानाका साथै रेडियो स्टेसन तथा चार-पाँच किलोमिटर परको हवाई अड्डा समेत कब्जा गरेका थिए । यति मात्र होइन, टेलिफोन लाइन काटेर भारतसँगको सम्पर्क समेत विच्छेद गरिदिएका थिए ।

केशरबहादुर केसीका अनुसार प्रतिक्रियावादी राणाहरुको उक्साहटमा गोरखा दलले रक्षा दललाई विद्रोहका लागि उत्तेजित पारेको भनाइ पनि छ । त्यो घटना हुनुभन्दा पाँच-सात महिनाअघि युवराज महेन्द्रले आफू गोरखा दलतिर लागेको आरोपको खण्डन गरेका थिए । त्यसमा मातृका सरकारको नीतिप्रति रिसाएका बीपी गुट, कम्युनिस्ट र पुराना नेताहरुको पनि भूमिका रहेको अनुमान गर्न सकिन्छ ।

सिंहदरबार कब्जाको भोलिपल्टदेखि रक्षा दलका विद्रोही सिपाहीहरु, राष्ट्रिय महासभाका केही सदस्य र कम्युनिस्ट पार्टी तथा त्यस निकट किसान संघका कार्यकर्ताहरु जिपमा बसेर शान्ति र क्रान्तिको अपिल गर्दै घुमे । राष्ट्रिय महासभा भरखर जन्मेको पार्टी थियो । त्यसको उद्देश्य किरात प्रदेश स्थापना गर्नु थियो ।

यसरी राति रक्षा दलले विद्रोह गरी सिंहदरबारसमेत विभिन्न ठाउँ कब्जा गरेको थाहा पाएपछि गृहमन्त्री सूर्यप्रसाद उपाध्याय, अर्थमन्त्री सुवर्णशमशेर र यातायात तथा सञ्चारमन्त्री भद्रकाली मिश्र अंगरक्षकका रुपमा रहेका रक्षा दलका जवानहरुका आँखा छलेर पहिले भारतीय दूतावास र त्यसपछि नारायणहिटी दरबार पुगेको दमनराज तुलाधरले आफ्नो जीवनकथामा उल्लेख गरेका छन् ।

त्यतिबेला अग्निप्रसाद खरेलले विद्रोही सरकारको गृहमन्त्री पदमा गणेशमान सिंह भएको सुनाएका थिए । त्यसैले राति १२ बजे नै श्री ५ बाट बोलावट भएको छ भनी झुक्काई गणेशमानकै मोटरमा रक्षादलका जवान पदमबहादुर राईले सिंहदरबार पुर्याए । बिहान भएपछि केआई सिंहले शान्ति सन्देशको प्रस्ताव राखेर गणेशमान र टंकप्रसाद आचार्यलाई राजाकहाँ पठाए । ती प्रस्ताव यस्ता थिएः

१) सर्वदलीय सहयोगबाट राष्ट्रिय पञ्चवर्षीय योजना तयार गरी श्री ५ मा पेस गर्ने ।

२) सबै सम्बन्धी विदेशी राष्ट्रहरुसँग मैत्रीपूर्ण राख्ने ।

३) सर्वदलीय जनप्रिय मन्त्रीमण्डल गठन गर्ने ।

४) उपर्युक्त कार्यमा सर्वदलीय सहयोग हुनुपर्दछ र महाराजाधिराजको मान्यता पनि रहनुपर्छ ।

५) प्रत्येक कार्य शान्तिपूर्ण ढंगसित हल गर्ने ।

६) तत्कालै सबै राजनीतिक पार्टीको एउटा सम्मेलन बोलाउने र त्यसको फैसला गरेको कुरा श्री ५ मा पेस गर्ने ।

यता यसरी शान्ति वार्ताका लागि दूतहरु गणेशमान र टंकप्रसादको नारायणहिटी र सिंहदरबार ओहोरदोहोर चलिरह्यो । उता राजाबाट नारायणहिटीमा तैनाथ शाही सेनाका जवानहरुलाई विद्रोह दबाउन र सिंहदरबारसमेतका ठाउँहरुलाई मुक्त गर्न परिचालन गरियो । त्यतिबेला सेनाहरु बस्नका लागि ब्यारेकको व्यवस्था थिएन । जवानहरु घर वा डेराबाट प्रत्येक बिहान टुँडिखेलमा हुने सैनिक कवाजमा हाजिर हुन्थे । अतः नारायणहिटी सैनिकहरु टुँडिखेल, हालको भृकुटीमण्डप र लुमडी (भद्रकाली) तिरबाट घेर्दै अगाडि बढे ।

एक प्रत्यक्षदर्शीका अनुसार त्यसबेला टुँडिखेलमा कवाज खेल्न जम्मा भएका राष्ट्रिय सेनामाथि जिपमा घुम्दै गरेका रक्षा दलका सिपाहीहरुले गोली हानेपछि राष्ट्रिय सेनाले पनि सिंहदरबारतिर गोली हाने । त्यही बेला कम्युनिस्ट कार्यकर्ता ‘अब कम्युनिस्टहरुको राज भयो’ भन्दै हिँडेका थिए । अर्को जिपमा बसेर नारा लगाउँदै आएका केआई सिंहका समर्थकमध्येका दुई जना सेनाको गोलीद्वारा मारिए । अन्ततोगत्वा दिउँसो १२–१ बजे खाना खाइवरि डाक्टर केआई सिंह आफ्ना ३७ जना साथीहरु लिएर आरामसाथ सिंहदरबारको पछाडिको ढोकाबाट निस्केर बागमती र विष्णुमती नदीको किनारै किनार हुँदै बालाजुबाट हिँडेर नुवाकोटको बाटो भई तिब्बत–चीनतिर लागे ।

बेनीबहादुर कार्कीका अनुसार चार कमान्डिङ जर्नेलहरुले रक्षा दलको विद्रोहमा केही नगर्ने सल्लाह गरेका थिए । कार्की त्यसबेला गोरखा दलमा आबद्ध थिए । तर नारायणहिटीको सेनाले दबाउने गरेपछि कुरा एक्सपोज हुने डरले केआई सिंह र साथीहरुलाई भगाउने गोप्य नीति अपनाए । अतः उनीहरुलाई मजासित भात खान दिएर सिंहदरबार छाडेपछि मात्र कर्णेल क्षेत्रबहादुरको पल्टनका केही सैनिकहरुले पछिपछि लखेटेजस्तो गरे ।

यसबाट के स्पष्ट हुन्छ भने सेनाले चाहेको भए केआई सिंहलाई समात्न सक्थ्यो । तर त्यसो नगरीकन उनलाई भाग्न दिइयो । उनलाई सेनाले लखेटे तर देखाउनलाई मात्र । केआई सिंह फलाना ठाउँबाट हिँड्यो भनेपछि मात्र सेनाको टोली त्यस ठाउँमा पुग्थ्यो । तर पछि लाग्ने सेनाले उनको बाटोको जानकारी भने राख्थे । यसरी उनी तिब्बत प्रवेश गरेपछि सेना फर्कियो ।

त्यसपछि माघ ११ गते नेपाल सरकारले राष्ट्रिय महासभा र नेपाल कम्युनिस्ट पार्टीलाई रक्षादल र केआई सिंहको विद्रोहमा सम्बन्ध रहेको भनी ‘अवैध’ घोषणा गर्यो । स्मरणीय छ, गोरखा दल पनि त्यतिबेलासम्म प्रतिबन्धित नै थियो । केआई सिंहको उक्त घटनाबारे सरकार र विभिन्न राजनीतिक दलहरुको बीचमा विभिन्न आरोप–प्रत्यारोप चलेको थियो ।

डाक्टर केआई सिंह नेतृत्वको त्यो विदोह योजनाबद्ध र संगठित रुपले गरेको भने देखिँदैन । रक्षा दलकै धेरैजसो जवानहरुलाई नै त्यसको उद्देश्य थाहा थिएन । मन्त्रालय, शस्त्रागार आदि कब्जा गर्नु सत्ता पलटका भए पनि उनका मागका निम्ति त्यत्रो अदूरदर्शी र असफल कदम उठाउनुपर्ने आवश्यकतै थिएन ।

 



प्रतिक्रिया दिनुहोस्