नेपाली कांग्रेसका नेता तथा सुदुरपश्चिम प्रदेश सांसद भरत खड्काले कोरोना संक्रमण सुदूरपश्चिमका नौ वटै जिल्लामा फैलिएको दर्दनाक अवस्था सुनाए । आफूहरुले कोरोना संक्रमणको जोखिममा प्रदेश रहेको र यसको लागि आवश्यक प्रवन्ध गर्नुपर्छ भनेर पहिले नै भनेको तर प्रदेश सरकारले नसुनेको उनको गुनासो थियो । यिनी विषयमा केन्द्रित रहेर पत्रकार ऋषि धमलाले नेपाली रेडियो नेटवर्कका लागि नेपाली बहस कार्यक्रममा नेता खड्कासँग विशेष कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :
सुदुरपश्चिममा कोरोनाको अबस्था के छ ?
तपाईँलाई पहिला पनि थाहा छ । तपाईँको मिडियाले बारम्बार सुदुरपश्चिम प्रदेश अत्यन्त जोखिम छ भन्ने कुरालाई उजातर गरेको छ । हामीले पहिलेदेखि नै सुदुरपश्चिम धेरै नै जोखिममा छ । चारैतिरबाट खुल्ला छ । यसकोलागि पहिला नै प्रवन्ध मिलाउनु पर्छ भनेर हामीले बारम्बार केन्द्रीय सरकार र प्रदेश सरकारलाई भनेका थियौँ । धेरैपटक अनुरोध गरेको थियौँ तर त्यसको सुनुवाई भएन । त्यसैले मलाई के लाग्छ भनेदेखि सुदुरपश्चिम अत्यान्त दर्दनाक अवस्थामा छ । अक्सिजन छैन । नौ वटै जिल्लामा यो व्यापक रुपमा फैलिएको छ । हामी सुदुरपश्चिमवासी दर्दनाक अवस्थामा र पीडामा छौँ । पीडादायिक अवस्थामा बाच्नुपर्ने अवस्था छ । सरकार छ कि छैन भन्नेसम्म पनि अनुभूति भएको छैन ।
त्यसो भए गाउँघरमा कोरोनाको संक्रमण फैलिसकेको हो त ?
एकदमै हो । यो समूदायमा कोरोनाको संक्रमण पुगिसकेको छ । ईन्डियाबाट आउने मान्छेहरुलाई यहाँ होल्डिङ सेन्टर र क्वारेन्टिनको व्यवस्था गर्नुपर्छ भन्ने कुराहरुमा हामीहरु पहिलादेखिनै लागेको हो । किनभने मुहानमा नै हामीले सफा गर्यौँ भने कम हुन्थ्यो । अब यो सबै नाकाहरु खुल्ला छन । सबै कम्युनिटीहरुमा गएका छन । मलाई लाग्छ यो हाम्रो काबुभन्दा बाहिर छ । हुन त अब हरेक देशको कावुभन्दा बाहिर छ । हाम्रो नेग्लिजेन्सका कारणले यो काबुभन्दा बाहिर गएको मलाई त लाग्छ । यही रफ्तारमा गएको खण्डमा हामी त यति दर्दनाक अवस्थामा छौं । अब यहाँका जनता निराश भईसकेका छन् । हामीहरुसँग अब सरकारको पनि अनुभूति छैन ।
धनगढी अस्पतालमा यति ठुलो समस्या छ, तपाईहरु कहाँ हुनुहुन्छ ? काँग्रेसले पनि त पहल गर्नुपर्यो नि त ?
हामीहरु जन प्रतिनिधि हौँ । हामीहरुले बारम्बार सल्लाह दिने कुरा हो । सरकारको नीति तथा निर्णय लागु हुन्छ नि । सरकारले जिम्मेवार भएर आफ्नो भूमिका निर्वाह गर्नुपर्यो ।
काँग्रेसले पनि प्रतिपक्षको रुपबाट दबाब दिनुपर्यो नि ? तपाईहरुमाथि त सुतेर बसेको आरोप छ नि ? के भन्नुहुन्छ ?
प्रतिपक्षले त सरकारलाई बारम्बार दबाब दिईरहेको छ । कुन किसिमको सहयोग चाहिन्छ, हाम्रो तर्फबाट हामीहरु तपाईकै साथमा छौँ । यस्तो किसिमको संकटमा हामीहरुले जनतालाई कस्तो किसिमको राहत दिन सकिन्छ ? कसरी सहजीकरण गर्न सकिन्छ भन्ने बारेमा त हामीहरु लागिनै राखेका छौँ । नीति तथा र्काक्रम त सरकारमा नै भरपर्ने विषय छ । जस्तै सम्माननीइ प्रधानमन्त्रीज्युले अहिले सबै पक्ष र सबै शक्तिलाई समेटेर यो महामारीलाई कसरी सहजीकरण गर्ने ? भन्नेबारे सोच्नुपर्ने हो । यो अहम विषय हो । प्रदेश सरकारको यो नेतृत्वोको कुरा गर्दाखेरि बारम्बार आफुलाई लाज लाग्न थालिसक्यो । यहाँको नेतृत्वा विलासितामा छ ।
तपाईँले त वैकल्पक सरकार बनाउने भन्नुभएको थियो नि, तर सक्नुभएन ?
हामीलाई अहिले बैकल्पिक सरकारको आवश्यकता होईन । राजनीति र सरकार परिवर्तन ठुला कुरा होईन । अहिलेको आवश्यकता नेपाली जनता जुन कोभिडको कहरबाट कसरी गुज्रिरहेका छन् ।, कस्तो पीडाको बीचमा बाँच्नुपर्ने अवस्था छ । यसलाई कसरी न्यूनिकरण र सहजीकरण गर्ने ? यसको प्रवन्ध कसरी मिलाउने भन्ने यो पहिलो प्राथमिकता हो । यो सरकार बनाने कुरा त पछिको कुरा हो ।
काँग्रेसको रणनीति त सरकार विस्थापित गर्ने छ नि त ?
सरकार नै चलाउन सकेन, वैधानिक तरिकाले यसका विधि, नीति र प्रक्रियाहरु छन । त्यो तरिकाले भोलि जिम्मेवारी आयो भने सम्हाल्नु त पर्ला नि । पहिलो नम्बरमा जनताको समस्या पर्छ ।
जनताहरु भोकभोकै छन, खान पाएका छैनन्, अक्सिजनको अभाव छ । भेन्टिलेटर छैन, आईसियु छैन, नर्मल बेड पनि नभएको कुरा आईरहेको छ, अनि तपाईँहरु त्यतातिर पहल गर्नुहुन्न ?
म एउटा कुरा स्मरण गर्न चाहान्छु । पहिला कोभिडको कहर सुरु हुनेबित्तिकै संस्थागत् ढंगले नेपाली काँग्रेसले पहिला नै त्यो कारोना कोषमा रकम जम्मा गरेका छौँ । हामीहरु सरकारको साथमा छौँ । सरकारले गरेका निणर्यलाई कार्यान्वयन गराउनेतर्फ केन्द्रदेखि ईकायीसम्मका कार्यकर्ताहरुलाई निर्देशन दिएका छौँ । सहयोग गरिराखेका छौँ । र, पटक–पटक सरकारलाई र हाम्रो सभापतिजीले पनि यी कुराहरुलाई उठाउनुभएको छ । अस्तिमात्रै पत्रकार सम्मेलन गरेर सरकारको प्रभावकारिता भएन । यसबाट देश आक्रान्त बन्यो । हामी सरकारको साथमा छौँ । सरकारले प्रभावकारी ढंगले अगाडि बढ्नुपर्यो भनेर बारम्बार माथिदेखि तलसम्म हामी लागिराखेका छौँ । अहिले अरु के गर्नु छ ? सरकारको जनशक्ति परिचालित गर्दैन्, आफुसंग भएको सबै कुरालाई परिचालित गर्न सक्दैन । जहाँसम्म लकडाउन एउटा महत्वपुर्ण पक्ष होला । तर, त्यसका साथसाथै सोच्नुपर्ने कुरा आपुर्तिका कुराहरु छन । दीर्घरोगीका कुराहरु छन । सामान्य रोगीका कुराहरु छन । तिनीहरुलाई पनि प्रभाव नपर्ने किसिमले सरकारले प्रबन्ध मिलाउनुपर्यो नि ।
त्यसोभए सुदुरपश्चिम प्रदेश सरकार काम गर्न सकेन, असफल भयो ?
यो शतप्रतिसत असफल भयो । यो सुदुरपश्चिम प्रदेशको बारेमा कुरा गर्नपनि लाज लाग्न थाल्यो । जोसंग मेनपावर छैन । जोसंग नैतिकता छैन जोसंग ईमान्दारिता छैन । उसले के सरकार सम्हालेर सफल हुने ? सफल भएको भए त यो अवस्था आउन्थ्यो र ? हामीले त गेटाको मेडिकल कलेजलाई अब एक हप्तापछि त्यसलाइ आईसोलेशसन वार्डको रुपमा प्रयोगमा ल्याऔं भनेका थियौं । हामीले त पहिले नै भनेका थियौँ । यो बन्दोबस्त गरिराखौँ यो प्रदेश जोखिममा छ । हामी यसको प्रवन्ध गरौँ हामीहरुले के–के गर्नुपर्छ तपाईकै साथमा छौँ भन्नुपर्दा त प्रदेश सरकार कर्तव्यविमुखमा बसिराखेको छ । प्रदेश सरकार छ कि छैन भनेर नौँ जिल्लाका जनतामा कुनै किसिमको अनुभुति भएको छैन । खाली प्राविधिक रूपमा मात्रै सरकार छ यहाँ, भन्नैपनि लाज छ यहाँ ।
त्यसो भए अब सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा समस्या जटिलतातिर गयो होईन ?
सबै जिल्लामा कोभिट फैलिसकेको छ । डाक्टरहरु पर्याप्त छैनन् । अक्सिजन छैन् । सिलिन्डर छैनन् । अस्तिमात्रै अक्सिजनको कमि थियो, डोटीका लागि बीस वटा सिलिन्डर यहाँबाट पठाईएका छन । यसरी कसरी धान्न सकिन्छ त ? यसको लागि त पूर्व तयारी त सरकारले गर्नुपर्छ नि । केन्द्रदेखि तलसम्म यो त सबैलाई थाहा छ । ईन्डियामा एकमहिनादेखि त्यत्रो कहर छ । हामीहरु यहाँ सुतेर बसेका छौँ । चीनमा त्यस्तै छ । हामी सुतेर बसेका छौा । विज्ञहरुले भनेका छन–सचेत हुनुपर्छ, यो धेरै फैलिनसक्छ । प्रधानमन्त्री पनि हौसेर आमसभा गर्ने । लाखौँको भीड गर्ने अनि सामाजिक दूरीका कुराहरु पनि नगर्ने । आफैँ नीति बनाउने अनि आँफै उल्लंघन गर्ने काम भैरहेको छ । वास्तवमा सरकारले नीतिको उल्लंघन गरिरहेको छ । सरकार रमाईरहेको छ । कोभिडको महामारीमा मलाई त अच्चम लाग्छ कि देशमा यस्ता किसिमका पनि सरकार हुँदा रहेछन । कोभिडमा पनि रमाईराखेका छन् । प्रधानमन्त्रीज्यु उहाँ हौसिनुभएको छ । यो कोभिडमा झन । त्यसैले गर्दा मानवीय संवेदनसिलताको आधारमा यो देशका नागरिकहरुले पनि हामीसंग राज्य छ, सरकार छ भन्ने खालमको अनुभुति गर्नसक्ने हुनुपर्यो नि । चाहे त्यो केन्द्रको सरकार होस् वा प्रदेशको होस् वा चाहे त्यो गाउँको होस् । यस्तो हुन नसकेछि त जनता त निरीह छन । त्रासमा छन् । यी सुदुरपश्चिमका जनता सुदुरपश्चिम त धेरै विकट छ नि । राज्यबाट धेरै पर टाढा छ नि । एउटा विरामीलाई हेलेकप्टरमा काठमाण्डौँ पुगाउन दश लाख लाग्छ । कसले तिर्न सक्छ ? अनि फेरि काठमाडौंमा बेड छैनन् । यस्तो समस्या छ । यहाँ सुदुरपश्चिमका नागरिक त त्यसै मर्छन नि त ।