काठमाडौं, २८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढालेर नयाँ सरकार बनाउने तयारीमा विपक्षी गठबन्धन लागेपछि संसदको ठूलो दल नेकपा (एमाले) का प्रभावशाली नेताहरुको बैठक बसेर विपक्षी गठबन्धनलाई सरकार बनाउन नदिने रणनीति अख्तियार गरेको छ । प्रधानमन्त्री ओलीले हिजो संसदमा विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठनको लागि दलहरुलाई आह्वान गरेकी छिन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाको उपेन्द्र यादव पक्षले वैकल्पिक सरकार निर्माणको लागि आवश्यक पहलकदमी पनि लिएका छन् । तीन वटै दलका नेतृत्वबीच घनिभूत छलफल भैरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच आजपनि छलफल भएको थियो । उनीहरुबीच वैकल्पिक सरकार बनाउनेबारे कुराकानी भएको नेताहरुले जनाएका छन् । लगत्तै, बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकमा नयाँ सरकार गठन गर्नेगरि तयारी गरिएको सभापति देउवाले ब्रिफिङ गरेका थिए ।
उता, बालुवाटार भने विपक्षी गठबन्धनले नयाँ सरकार गठनको लागि बहुमत पुर्याउनै नसक्ने निश्कर्षमा पुगेको छ । विश्वस्त सूत्रले दिएको जानकारीअनुसार हिजो प्रधानमन्त्री ओलीले विश्वासको मत लिन असफल भएपछि एमालेका शीर्ष नेताहरुको छुट्टै छलफल भएको थियो । उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र कानूनमन्त्री लिलानाथ श्रेष्ठ सम्मिलित उक्त बैठकमा विपक्षी गबन्धनले सरकार गठनको लागि बहुमत पुर्याउन नसक्नेबारे चर्चा भएको थियो ।
जसपाले साथ नदिने भएपछि विपक्षीले कुनैपनि हालतमा बुहमत पुर्याउन नसक्ने उनीहरुको निश्कर्ष थियो । त्यतिमात्रै होईन, पार्टीको ह्वीप उल्लंघन गर्ने माधव नेपाल पक्षधर २८ जना सांसदहरुलाई कारबाही गर्ने कि के गर्ने भन्नेबारे पनि हिजो छलफल भएको थियो । तत्काल नेपाल पक्षधर सांसदहरुलाई कारबाही गरिए एमालेलाई नै ठूलो नोक्शान हुने भएकोले कारबाही नगर्ने निश्कर्षमा बालुवाटार पुगेको छ । अहिले ओली सरकार विस्थापित गर्न सबैभन्दा बढि हात धोएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लागेको भन्दै उनीहरुले दाहाललाई जसरी पनि असफल बनाईछाड्ने निश्कर्ष निकालेका छन् । File Photo/ReportersNepal