काठमाडौं, २ जेठ । सिद्धार्थ बैंकले ‘सिद्धार्थ अक्सिजन लोन’ नयाँ योजना ल्याएको छ । बैंकले मुलुकभर बढ्दो कोरोना संक्रमणसँगै संक्रमित बिरामीको उपचारमा अस्पताल तथा नर्सिङ होममा देखिएको अक्सिजन अभावलाई केन्द्रित गर्दै ‘सिद्धार्थ अक्सिजन लोन’ योजना सार्वजनिक गरेको जनाएको छ ।
बैंकको अनुसार योजनाअन्तर्गत अक्सिजन उत्पादन गर्ने मेसिन, उपकरण खरिद तथा क्षमता विस्तारका लागि इच्छुक अस्पताल र नर्सिङ होमहरूलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएकोे छ ।
कर्जा अवधिभर बैंकको आधार दरमा कर्जा प्रदान गर्नेछ भने सम्बन्धित संस्थाको नगद प्रवाहको आधारमा कर्जाको सहज भुक्तानी अवधि तय गर्ने भएको छ । कुनै पनि सेवाशुल्क नलाग्ने यो योजनामा सहज रूपमा कर्जा उपलब्ध गराइने बैंकले बताएको छ ।
यस्तो कर्जामा राष्ट्र बैंकबाट सहुलियत प्राप्त भए सहुलियत कर्जा निर्देशिकाअनुरूप हुने र सीमित अवधिका लागि ल्याइएको कर्जा सुविधाले हाल देशमा विद्यमान अक्सिजन अभाव हटाउन सहयोगी हुने विश्वास बैंकले लिएको छ ।