काठमाडौं, ५ जेठ । राष्ट्रिय सभाको बाग्मती प्रदेशको लागि भोलि उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा बादल र खिमलाल देवकोटाबीच कडा प्रतिष्पर्धा हुने भएको छ । यो चुनावी प्रतिष्पर्धालाई एमाले भर्सेस एमालेको संज्ञा दिईएको छ । बादल अध्यक्ष केपी शर्मा ओलीका उम्मेद्धवार हुन भने देवकोटा वरिष्ठ नेता माधव कुमार नेपालको ।
बादल एमालेबाट उठेका हुन भने देवकोटा भने स्वतन्त्र उम्मेद्धवार बनेका छन् । पार्टीभित्रको विवादका कारण बादल र देवकोटाको उम्मेद्धवारीले राष्ट्रिय राजनीतिमा समेत चर्चा बटुलेको छ । बाग्मती प्रदेशमा एमालेको एकल बहुमत छ । एमालेले एक भएर मत हाले बादलको जित सुनिश्चित् छ । तर, एमाले विभाजित भएको अवस्थामा भने देवकोटाले बाजी मार्ने पक्का छ ।
देवकोटा कांग्रेस र माओवादी केन्द्रको समर्थनमा उम्मेद्धवार बनेका हुन् । हिजोमात्रै बादलले नेता नेपाललाई भेटेर चुनावमा आफूलाई सघाउन भनेका थिए । तर, नेता नेपालले परिस्थिति धेरै टाढा पुगिसकेकोले अब आफू त्यसबाट ब्याक हुन नसक्ने जवाफ दिएका थिए । उनले देवकोटालाई आफ्नै पहलमा उम्मेद्धवार बनाईएकोले अब पछि हट्ने कुरा नभएको भन्दै आफू पक्षधर जनप्रतिनिधिहरुले देवकोटालाई नै मत हाल्ने नेपालको स्पष्ट सन्देश थियो ।
बादल भने सुरुमा नै आफ्नो जित सुनिश्चित नभएसम्म उम्मेद्धवार नबन्ने अडानमा थिए । उनी उम्मेद्धवारी दिने दिनपनि अवेर काठमाडौंबाट हेटौंडा गएका थिए । उनी नेपाली सेनाको हेलिकप्टर चढेर उम्मेद्धवारी दिने स्थलमा पुगेका थिए । सुरुमै उनको आलोचना भएको थियो । जनता कोरोना महामारीका कारण उपचार नपाएर मरिरहेको अवस्थामा गृहमन्त्री बादल भने हेलिकप्टर सवार गरेर उम्मेद्धवारी दिन गएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो ।
एमालेले बादललाई मत हाल्न ह्वीप जारी गरिसकेको छ । तर, नेता नेपालको कारण बादलले एमालेको सबै मत पाउने सम्भावना लगभग शून्य छ । तर, प्रधानमन्त्री ओलीले भने नेता नेपालाई जसरीपनि फकाउने र बादलको पक्षमा आजै माहोल बनाउने वचन दिएको स्रोतको दाबी छ । स्रोतकाअनुसार नेता नेपालले अघि सारेका माग र मुद्दा सम्बोधन गर्न आफू तयार रहेको सन्देश ओलीले आजै प्रवाह गर्नसक्नेछन् । त्यसो भयो भने नेता नेपालले पनि बादललाई मत हाल्नको लागि वक्तव्य जारी गर्नुपर्ने अवस्था आउन सक्छ । File Photo/ReportersNepal