काठमाडौं, ५ जेठ । पूर्वआइजीपी खड्गजीत बरालको निधन भएको छ । उनको ९३ वर्षको उमेरमा आज निधन भएको हो ।
बराल सेवानिवृत्त भएपछि पनि सामाजिक जीवनमा निकै सक्रिय थिए । प्रहरी सेवामा सफल अधिकृतहरु बराललाई निकै सम्मान गर्दथे ।
राणाविरोधी नेपाली काँग्रेसको मुक्ति सेनामा रहेर समेत बराल लडेका थिए । २०१३ देखि २०३४ सालसम्म प्रहरी सेवामा रहेका बराल २०२९ देखि २०३५ सम्म ६ वर्ष आइजीपी रहे । बराल लोक सेवा आयोगबाट तत्कालीन सरकारमा प्रहरी महानिरीक्षकको लागि सिफारिस हुने प्रथम स्नातकोत्तर उत्तीर्ण प्रहरी अधिकृत हुन् । उनी ४४ वर्षकै उमेरमा आइजीपी भएका थिए । उनको कार्यकालमा प्रहरी सेवामा महत्वपूर्ण कार्यहरु भएका थिए । हक्की स्वभावका उनकै पालामा सीमा क्षेत्रमा प्रहरी पोष्ट निर्माण भएका थिए ।
बरालको जन्म नवलपरासीको देवचुलीमा ५ वैशाख वि=सं १९८५ मा भएको थियो । प्रहरी सेवामा २१ वर्ष रहेपछि राजदूतको जिम्मेवारी पाए । त्यसपछि राष्ट्रिय पञ्चायतको मनोनित सांसद रहे ।
बर्माका लागि राजदूत हुँदा उनले बर्मामा अधिकारविहिन शरणार्थीसरह बसोबास गरेका नेपाली मूलका बर्मेलीलाई बर्मेली नागरिकता दिलाउन भूमिका खेलेका थिए । बर्मामा पशुपतिनाथको मन्दिर निर्माण गर्नुका साथै भानुजयन्ती मनाउने परम्पराको सुरुवात गराएका थिए ।