काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ आकस्मिक मन्त्रिपरिषद्को बैठक डाकेका छन् । उनले दिउँसो नेकपा एमाले स्थायी कमिटी बैठक डाके । विश्वासको मत र बजेटबारे चासो बढिरहँदा एमाले बैठक र क्याबिनेट आकस्मिक रुपमा डाकिएपछि निकै चासो बढेको छ ।
आज आकस्मिक रुपमा डाकिएको क्याबिनेटमा पूर्वमाओवादीबाट दोस्रोपटक मन्त्री बनेका ७ जना भने सहभागी हुनपाउनेछैनन् । उनीहरु सर्वोच्च अदालतको आजको आदेशबाट स्वतः पदमुक्त भइसकेका छन् । उनीहरुमध्ये बादलबाहेक ६ जना तत्काल मन्त्री बन्ने सम्भावनाको ढोका बन्द भएको छ ।
बादलले भने राष्ट्रिय सभा निर्वाचनमा जीत हासिल गरेमा फेरि मन्त्री बन्न पाउनेछन् । उनको पुनः नियुक्तिको सम्भावना पनि छ ।
नेकपा विवाद चुलिँदा प्रचण्डको साथ छाडेर सबै ७ जना केपी शर्मा ओली समूहमा सहभागी भएका थिए । उनीहरुले एमाले बनेपछि महत्वपूर्ण जिम्मेवारी पनि पाए । तर, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले उनीहरु सबै पदमुक्त भएका छन् ।
क्याबिनेट बस्नु ठिक अघि ७ मन्त्री पदमुक्त हुनुले तरङ्ग आएको छ । यसले एमालेभित्रको आन्तरिक राजनीतिमात्र नभई वर्तमान सत्तासंघर्षलाई पनि प्रभावित पार्ने सम्भावना देखिएको छ ।
पदमुक्त हुनेमा पूर्वमाओवादीका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र दावा लामा हुन् । उनीहरु कोही पनि सांसद छैनन् ।