काठमाडौं, ७ जेठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षले संसदीय दलको बैठक बोलाएको छ । जसपाका एक सांसदले दिएको जानकारीअनुसार आजको बैठकमा अर्का अध्यक्ष उपेन्द्र यादव पक्षधर सांसदहरुलाई खबर गरिएको छैन् ।
हिजो राति अबेरम्म अध्यक्ष ठाकुर र नेता महतो प्रधानमन्त्री केपी शर्मा ओलीसँग रहेको र सरकारमा सहभागी हुनेबारे ठोस सहमति गरेको खबर छ । सरकारमा सहभागी हुनेबारे निर्णय गराउन नै जसपाको बहुमत सांसदहरुको बैठक बस्न लागेको एक सांसदले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।
ठाकुर पक्षले अघि सारेका माग सम्बोधन गर्न प्रधानमन्त्री ओलीले हिजोको मन्त्रिपरिषद बैठकमा सोहीअनुसार निर्णय लिईएको जसपा ठाकुर पक्षका नेताहरुको विश्वास छ । ठाकुर पक्षलाई सरकारमा सहभागी हुनको लागि प्रधानमन्त्री ओलीले यसअिघ नै आग्रह गरेका थिए । तर, ठाकुरले आफूहरुको माग नै पूरा नगरीकन कसरी सरकारमा सहभागी हुने भन्दै प्रधानमन्त्रीको प्रस्तावलाई अस्विकार गर्दै आएका थिए ।
तर, हिजो बसेको मन्त्रिपरिषद बैठकले धारा ७६ को ५ अनुसार नयाँ सरकार गठनको लागि राष्टपतिसमक्ष सिफारिश गरेको र सोहीअनुसार राष्टपतिले आज साँझ ५ बजेसम्मको समय दिएपछि ठाकुर पक्ष सरकारमा सहभागी हुन लागेको छ । विश्वस्त स्रोतकाअनुसार जसपालाई दश वटा मन्त्रालय दिने सहमति भएको छ । File Photo/ReportersNepal