Logo

माधव नेपालसँग सम्पर्कमा देउवा, नयाँ सरकार गठनबारे छलफल



काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग नयाँ सरकार गठनबारे छलफल गरेका छन् । स्रोतकाअनुसार देउवा र नेता नेपालबीच हिजो राति अवेर यस विषयमा कुराकानी भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेसम्मको समयसिमा दिएर धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको लागि आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मार्गप्रशस्त नै नगरी वा संसदबाट विश्वासको मतसमेत नलिई धारा ७६ को ५ अनुसार सरकार गठनको लागि गरेको सिफारिश राष्ट्रपतिले तत्काल अनुमोदन गरेकी हुन् ।

प्रधानमन्त्री र राष्टपतिको यो कदमलाई कांग्रेस, माओवादी केन्द्रलगायत अन्य दलले पनि भत्र्सना गरेका छन् । कतिपय संविधानविद्हरुले त प्रधानमन्त्रीलाई तत्काल हटाउनुपर्ने र राष्ट्रपतिमाथि महाअभियोग लगाउनुपर्ने समेत माग गरेका छन् ।

अब कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न देउवा नेता नेपालसँग सम्पर्कमा रहेको बुझिएको छ । उनीहरुबीच आजै भेटवार्ताको तयारीसमेत रहेको स्रोतको दाबी छ । नयाँ सरकार गठनको लागि माधव नेपाल पक्षधर सांसदहरुले सामूहिक राजीनामा दिए कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षले साथ दिँदा वैकल्पिक सरकार गठन हुने देउवाको विश्वास छ ।



प्रतिक्रिया दिनुहोस्