काठमाडौं, ८ जेठ । प्रतिनिधि सभा विघटन गरी चुनावको घोषणा भएपछि प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिमण्डलमा हेरफेर र नयाँ मन्त्री थप्ने तयारीमा लागेका छन् । उनले जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहलाई पनि साथमा लिएर चुनावमा जाने भएका छन् ।
महन्थ समूहसँग चुनावी गठबन्धन सम्म बनाउने गरी सरकार निर्माण हुनलागेको बुझिएको छ । मन्त्रिमण्डलमा महन्थ ठाकुर आफै उपप्रधानमन्त्रीसहित शक्तिशाली मन्त्रालय लिएर जाने सम्भावना पनि छ । तर, राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा जाने सम्भावना बलियो रहेको बुझिएको छ । महतोले गृह मन्त्रालयको दाबी गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।
पूर्वमाओवादी ७ मन्त्रीहरु सर्वोच्च अदालतको ६ जेठको आदेशबाट पदमुक्त भएपछि ती मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओली स्वयंले लिएका छन् । ती मन्त्रालयहरुमा जसपाको महन्थ ठाकुर पक्षधरलाई व्यवस्थापन गर्ने तयारी ओलीले गरेका छन् ।
मन्त्री बन्ने सूचीमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, विमल प्रसाद श्रीवास्तव, चन्दा चौधरी, उमाशंकर अगरिया, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, प्रमोद साह, चन्द्रकान्त चौधरी अग्रपंक्तिमा छन् । उनीहरुले महन्थ पक्षमा रहेर ओलीलाई साथ दिएका थिए ।
जसपाले कम्तिमा १० मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । उसको माग सम्बोधन गर्न ओली तयार भएपछि हिजो नाटकीय रुपमा बहुमतको सरकार गठनका लागि समर्थनको प्रस्तावमा ठाकुर र महतोले समेत हस्ताक्षर गरेका थिए ।
यसैगरी, पूर्वमाओवादीका नेताहरु रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणिचन्द्र थापा, गौरीशंकर चौधरी, प्रभु साह र दावा लामामध्येबाट केहीलाई नयाँ मन्त्रिमण्डलमा थप्ने ओलीको तयारी छ । बादलले गृहमन्त्रीकै जिम्मेवारी पाउने सम्भावना पनि रहेको छ । तर, ओलीले आफ्ना विश्वासपात्र कसैलाई उक्त मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेको बुझिएको छ ।
एमालेका कतिपय मन्त्रीहरु बिदा हुने सम्भावना छ । इश्वर पोखरेलले गृह मन्त्रीको चाहना राखेको बुझिएको छ । महेश बस्नेत र गोकुल बाँस्कोटा पनि मन्त्री बन्ने सम्भावना रहेको छ । सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र योगेश भट्टराईले पनि अवसर पाउने सम्भावना रहेको छ ।