काठमाडौं, ८ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले बदनियतपूर्ण ढंगले मिलेमतोमा षड्यन्त्रपूर्वक तरिकाले मध्यराति प्रतिनिधि सभाको हत्या गरेको टिप्पणी गरेका छन् । आज काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि प्रेस विज्ञप्ति जारी गरी राष्ट्रपति र प्रधानमन्त्री षड्यन्त्रपूर्वक नेपालको संविधान समाप्त गर्न उद्दत रहेको आरोप समेत लगाएका छन् ।
‘राष्ट्रपति र प्रधानमन्त्री षड्यन्त्र गरी पदको चरम दुरुपयोग गरी नेपालको संविधान समाप्त गर्न उद्दत रहेका छन्,’ देउवाले प्रेस विज्ञप्तिमा भनेका छन् । उनले आफूलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने जिकिर गर्दै ओलीलाई गर्नु घोर असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कार्य भएको टिप्पणी समेत गरेका छन् ।
राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली जनताको आस्थाको केन्द्र संविधान जस्तो सार्वजनिक दस्तावेजलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गरिरहेका छन्, देउवाले भनेका छन् । उनले यो कार्यलाई असंवैधानिक मात्र नभई अनैतिक भनेका छन् ।